RE
Global College

देशको व्यापार घाटा सवा १६ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं ।  चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा मुलुकको कुल व्यापार घाटा सवा १६ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो। गत आवको जेठ मसान्तसम्ममा यस्तो व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। समग्र व्यापार घाटा बढे पनि समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भएको भन्सार विभागको रेकर्डले देखाउँछ।

तथ्याङ्कअनुसार चालू आवको ११ महिनामा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो, जतिबेला १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो।

अर्कातर्फ, यस अवधिमा नेपालको निर्यात पनि १२.२८ प्रतिशतको सुधार आउँदै २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गर्न सकेको थियो।

आयात र निर्यात दुवैतर्फ वृद्धि भए तापनि आयातको अङ्क निकै ठूलो भएकाले देशको आयात–निर्यात अनुपात थप असन्तुलित बनेको छ। अघिल्लो वर्ष ६.६४ रहेको आयात–निर्यात अनुपात चालू वर्षमा बढेर ६.८१ पुगेको छ । यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशतबाट घटेर १२.०२ प्रतिशतमा खुम्चिएको छ भने आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।

NECO

Leave Your Comment

Related News