CLI

स्मार्टफोन आयातबाट ८अर्ब १० करोड राजस्व संकलन , चीनको मात्रै ६ अर्ब १२ करोड योगदान

काठमाडौं । चालु आव २०८२/८३ को ११ महिनामा विभिन्न देशहरूबाट विभिन्न कम्पनीका स्मार्टफोनहरू आयात गर्दा सरकारले ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व सकंलन गरेको नेपाल भन्सार विभागको तथ्याङ्कले देखाएको छ। चालु आव मा ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको २० लाख ४१ हजार १९९ थान स्मार्टफोन आयात गरिएको छ, जुन गत आव को सोही अवधिको तुलनामा ६५ हजार ६८६ थानले बढी हो।

गत आव २०८१/८२ को जेठ महिनासम्ममा १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात गरिएको थियो, जसको मूल्य ३२ अर्ब ८ करोड ७८ लाख एक हजार रुपैयाँ हुन आउँछ। जसबाट राज्यले ५ अर्ब ९८ करोड २१ लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

चालु आव मा सबैभन्दा बढी चीनबाट स्मार्टफोनहरू आयात गरिएको छ। ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरको १७ लाख १० हजार ९१० थान स्मार्टफोन चीनबाट आयात गरिएको छ, जसबाट सरकारलाई ६ अर्ब १२ करोड ४४ लाख ९९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।

गत आवको तुलनामा चीनबाट भएको आयात ४७.७६ प्रतिशतले वृद्धि भएको छ। गत आव चीनबाट २२ अर्ब २२ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १५ लाख ७० हजार ५४० थान स्मार्टफोन आयात गरिएको थियो।

त्यस्तै, भारतबाट ९ अर्ब ८२ करोड ६७ लाख ४ हजार रुपैयाँ बराबरको ३ लाख १९ हजार ५८२ थान स्मार्टफोन आयात गरिएको छ। अस्ट्रेलियाबाट १६ करोड ४२ लाख ७२ हजार रुपैयाँको २ हजार ५९३ थान, अमेरिकाबाट १७ करोड ६६ लाख ३५ हजार रुपैयाँको १ हजार ४२५ थान र युनाइटेड अरब इमिरेट्स (यूएई) बाट ११ करोड ७१ लाख ३८ हजार रुपैयाँ बराबरको १ हजार ३८१ थान स्मार्टफोन आयात भएको छ।

 

 

Leave Your Comment

Related News