CLI

इक्रा नेपालले घटायो केटीएम हस्पिटालिटीको रेटिङ

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति पर्खिरहेको केटीएम हस्पिटालिटी लिमिटेडको रेटिङमा गिरावट अएको छ । नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको कुल १ अर्ब रुपैयाँ बराबरको बैंक कर्जा सीमाको रेटिङमा कटौती गर्दै ‘इस्युअर नट कोअपरेटिङ’  सूचीमा राखेको छ। पटक-पटकको ताकेता र अनुरोधका बाबजुद कम्पनी व्यवस्थापनले रेटिङ अनुगमनका लागि आवश्यक वित्तीय तथा भौतिक विवरण उपलब्ध नगराएपछि इक्रा नेपालले यो कदम चालेको हो।

यस निर्णय अनुसार कम्पनीको ९५ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा सीमाको रेटिङ ‘[ICRANP] LB+’ बाट घटाएर ‘[ICRANP] LB “Issuer not Cooperating”‘ (इक्रा एनपी एल बी, इस्युअर नट कोअपरेटिङ) कायम गरिएको छ। यसैगरी, कम्पनीको ४ करोड ५० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको रेटिङलाई पनि परिमार्जन गर्दै ‘[ICRANP] A4’ बाट ‘[ICRANP] A4 “Issuer Not Cooperating”‘ (इक्रा एनपी ए फोर, इस्युअर नट कोअपरेटिङ) श्रेणीमा सारिएको छ। इक्रा नेपालले यी दुवै रेटिङहरुलाई हाल खारेजीको सूचनामा समेत राखेको छ।

कम्पनीले आवश्यक सूचना उपलब्ध नगराउँदा यसको वास्तविक वित्तीय स्वास्थ्य र आयोजनाको अवस्थाबारे गम्भीर अन्योल सिर्जना भएको इक्रा नेपालले जनाएको छ। ‘क्रेडिट रेटिङ नियमावली २०११’ बमोजिम गरिएको समीक्षामा कम्पनीको आयोजनाको पछिल्लो प्रगति, लागत अनुमान, वित्तीय व्यवस्थापन वा अपुग रकम र बैंक ऋण भुक्तानीको अवस्था आदिका बारेमा जानकारी नपाइएको एजेन्सीको भनाइ छ। पर्याप्त विवरणको अभावमा कम्पनीको वित्तीय प्रोफाइल र ऋण भुक्तानी क्षमता सूचकहरुमा परेको प्रभावको परिमाण यकिन गर्न नसकिएकाले, हाल कायम गरिएको रेटिङले संस्थाको वर्तमान वास्तविक कर्जा जोखिम अवस्थालाई पर्याप्त रुपमा प्रतिविम्बित नगर्न पनि सक्ने इक्राले प्रस्ट पारेको छ। कम्पनीको व्यवस्थापन पक्ष निरन्तर असहयोगी बनेपछि उपलब्ध भएसम्मका उत्कृष्ट जानकारीहरु आधारमा यो रेटिङ निर्णय लिइएको हो।

जनवरी २०२० मा दर्ता भएको केटीएम हस्पिटालिटी लिमिटेडले चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘रोयल ट्युलिप चितवन नेपाल’ ब्रान्ड नाम अन्तर्गत एउटा पाँचतारे विलासी रिसोर्ट निर्माण गरिरहेको छ। विश्वभर फैलाइएको पाँचतारे विलासी ब्रान्ड रिसोर्ट/होटल चेन ‘रोयल ट्युलिप’ अन्तर्गत यस सम्पत्तिको सञ्चालन गर्नका लागि कम्पनीले युरोपको एक अग्रणी होटल समूह ‘मेसर्स लुभ्रे होटल्स ग्रुप’ सँग होटल व्यवस्थापन सम्झौता समेत गरेको थियो। कुल ६५ वटा कोठाहरु  रहने योजना बनाइएको यस रिसोर्टलाई सन् २०२५ अप्रिलको मध्य (वि.सं. २०८२ वैशाख) देखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो।

Leave Your Comment

Related News