CLI

अष्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा, मेसी बने सर्वाधिक गोलकर्ता

काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । समूह ‘जे’ अन्तर्गत डलासमा गए राति भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।

यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले दुई गोल गरे । योसँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । ३९ वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल सङ्ख्या १८ पुर्‍याएका छन् ।

यससँगै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई पछि पारेका हुन् । मेसीले खेलको ३८ औँ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको इन्जुरी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे । खेलको शुरुमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए । आठौँ मिनेटमा अस्ट्रियाका स्टेफन पोस्चले फउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेसीको प्रहार पोस्टबाहिर गएको थियो । यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले दुई खेलमा पाँच गोल गरिसकेका छन् ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् । अर्जेन्टिनाका लागि उनले २०१ खेलमा १२१ गोल गरिसकेका छन् ।

Leave Your Comment

Related News