भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन अटेरी गर्ने २९ जना करदाता तथा व्यावसायिक फर्मको नाम सार्वजनिक गरेको छ।
कार्यालयले आइतबार सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि बक्यौता कर रकम नतिरेका करदाता, व्यवसायी तथा फर्महरूको विवरण सार्वजनिक गरेको जनाएको हो।
कार्यालयका अनुसार आन्तरिक राजस्व कार्यालय, बर्दिया ले आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम बक्यौता रकम असुली प्रक्रिया अघि बढाएको छ। तोकिएको समयसीमाभित्र कर दायित्व पूरा नगरेका कारण सम्बन्धित करदाताको नाम कानुनी प्रक्रियाअन्तर्गत सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।
सार्वजनिक गरिएको सूचीमा विभिन्न उद्योग, निर्माण कम्पनी, सेवा प्रदायक व्यवसाय तथा व्यापारिक फर्महरू समावेश रहेका छन्। कार्यालयले सम्बन्धित करदाताहरूलाई यथाशीघ्र बक्यौता रकम बुझाई थप कानुनी जटिलताबाट बच्न आग्रह गरेको छ।
कार्यालयले कर असुलीका लागि आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ। कर प्रणालीलाई प्रभावकारी बनाउने, करदातामा कर अनुशासन कायम गराउने तथा राजस्व संकलनलाई व्यवस्थित बनाउने उद्देश्यले नाम सार्वजनिक गर्ने प्रक्रिया अपनाइएको कार्यालयको भनाइ छ।
आन्तरिक राजस्व कार्यालयले सबै करदातालाई समयमै कर विवरण तथा कर दायित्व पूरा गर्न आग्रह गर्दै कर कानुनको पालना गर्न अनुरोध गरेको छ।



