काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो बजारमा प्रवेशको तयारी थालेको हो।
कम्पनीले अन्तिम चरणमा सर्वसाधारणका लागि जारी गरेको आईपीओ जेठ २७ गते बाँडफाँट गरेको थियो। त्यसपछि असार ५ गते सिडिएस एण्ड क्लियरिङ लिमिटेड सँग शेयर अभौतिकीकरण (डिम्याट) सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौतापछि कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकरण गर्ने प्रक्रिया अघि बढ्नेछ।
कम्पनीले कुल १ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर सूचीकरण गराउने जनाएको छ। सूचीकरणपछि कम्पनीको कुल शेयर स्वामित्वमध्ये ६५ प्रतिशत संस्थापक समूह र ३५ प्रतिशत सर्वसाधारणको रहनेछ।
कालंगा हाइड्रोले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ। आयोजनाबाट २०७९ माघ २७ गतेदेखि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाको कुल निर्माण लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार रुपैयाँ रहेको छ। आयोजना सञ्चालनका लागि कम्पनीले २०७२ चैत १४ गते नेपाल सरकारको ऊर्जा मन्त्रालयबाट अनुमति प्राप्त गरेको थियो।
उक्त अनुमति २१०७ चैत १३ गतेसम्म बहाल रहनेछ। अनुमति अवधि समाप्त भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।
आईपीओ निष्कासन सम्पन्न गरी सूचीकरण प्रक्रियामा प्रवेश गरेसँगै कालंगा हाइड्रोको शेयर अब छिट्टै दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।


