CLI

सत्ताको लोभले कांग्रेसको छवि बिग्रियो, नयाँ पुस्ता टाढियो : गगन थापा

झापा । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो सात–आठ वर्षमा पार्टी सत्ताको लुछाचुँडी र भागबण्डाको राजनीतिमा अल्झिँदा नागरिकको भरोसा कमजोर भएको बताएका छन्।

मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस शक्ति र सत्ताको भोको समूहजस्तो देखिन थालेको टिप्पणी गर्दै पार्टीलाई सुधारको दिशामा लैजान आवश्यक रहेको बताए।

उनले २०७२ सालमा संविधान जारी भएपछि निरन्तर सरकार परिवर्तन हुने र कहिले एमाले त कहिले माओवादीसँग गठबन्धन गरेर सरकार बनाउने प्रवृत्तिले पार्टीको छवि प्रभावित भएको बताए।

“हामीलाई सरकार बनाउन र टिकाउन जस्तोसुकै गठबन्धन पनि हुने, तर नागरिकका समस्यासँग कुनै सरोकार नहुने अवस्था बन्यो,” थापाले भने, “यही सत्ताको लोभले कांग्रेसको छवि बिग्रिएको छ र नयाँ पुस्ता हामीबाट टाढिएको छ।”

उनले अबको कांग्रेस नेतामुखी नभई कार्यकर्ता र नागरिकमुखी हुनुपर्नेमा जोड दिए। वर्तमान संरचनामा सबैको ध्यान माथिल्लो तह र सभापतितर्फ केन्द्रित हुने परिपाटी रहेको उल्लेख गर्दै उनले पार्टीको कार्यशैली परिवर्तन गर्नुपर्ने बताए।

“अब यो पार्टीको पिरामिडलाई उल्ट्याउनुपर्छ। नेताले कार्यकर्तालाई र कार्यकर्ताले नागरिकलाई हेर्ने वातावरण बनाउनुपर्छ,” उनले भने।

सभापति थापाले उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी र प्रविधिमैत्री बनाइने पनि बताए। आगामी निर्वाचनमा कसलाई टिकट दिने भन्ने निर्णय केन्द्रबाट नभई सम्बन्धित पालिकाका क्रियाशील सदस्यहरूले डिजिटल माध्यमबाट गर्ने व्यवस्था गरिने उनको भनाइ थियो।

त्यस्तै, उनले कांग्रेसको १५औँ महाधिवेशन पूर्ण रूपमा निष्पक्ष ढंगले सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। सदस्यता छानबिन र निर्वाचन समितिमा समेत सबै पक्षको विश्वास कायम हुने व्यवस्था गर्न आफू तयार रहेको उनले बताए।

संसद्मा हालै गरिएको जिम्मेवारी हेरफेरबारे स्पष्ट पार्दै थापाले त्यसलाई कसैको अपमानका रूपमा नबुझ्न आग्रह गरे। उनले उक्त निर्णय पार्टीको विधान र नयाँ नेतृत्व चयनपछिको स्वाभाविक प्रक्रिया भएको बताए।

Leave Your Comment

Related News