काठमाडौं । देशभर सरकारी स्वामित्वबाहेकका १० हजार ४११ शिक्षण संस्था सञ्चालनमा रहेको एक सर्वेक्षणले देखाएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सञ्चालनमा छन्।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ अनुसार सो संख्यामा विद्यालय रहेको जनाएको हो । सर्वेक्षणअनुसार देशभर रहेका कुल शिक्षण संस्थामध्ये २७.९ प्रतिशत अर्थात् २ हजार ९०३ वटा संस्था बागमती प्रदेशमा रहेका छन्। कोशी प्रदेशमा १ हजार ९१७ (१८.४ प्रतिशत) र मधेश प्रदेशमा १ हजार ८९१ (१८.२ प्रतिशत) संस्था सञ्चालनमा रहेका छन्। त्यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ५५६ (१४.९ प्रतिशत), सुदूरपश्चिम प्रदेशमा ९०७ (८.७ प्रतिशत), गण्डकी प्रदेशमा ८६२ (८.३ प्रतिशत) तथा कर्णाली प्रदेशमा ३७५ (३.६ प्रतिशत) शिक्षण संस्था रहेका छन्।
नेपाल स्तरीय औद्योगिक वर्गीकरण (एनएसआईसी) अनुसार पूर्वप्राथमिक तथा आधारभूत तहका विद्यालयहरूको संख्या सबैभन्दा बढी रहेको छ। कुल शिक्षण संस्थामध्ये ४३ प्रतिशत अर्थात् ४ हजार ५२२ संस्था पूर्वप्राथमिक तथा आधारभूत तहका छन्। माध्यमिक तहका शिक्षण संस्था ४ हजार ३१९ (४१ प्रतिशत) रहेका छन् भने उच्च शिक्षा प्रदान गर्ने संस्था १ हजार २६८ (१२ प्रतिशत) रहेका छन्।
त्यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने संस्थाको संख्या सबैभन्दा कम रहेको पाइएको छ। यस्ता संस्था ३०१ वटा मात्रै रहेका छन्, जुन कुल शिक्षण संस्थाको करिब ३ प्रतिशत हो।
आर्थिक योगदानतर्फ हेर्दा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूले सन्दर्भ वर्षमा करिब १९५ अर्ब रुपैयाँ बराबरको कुल उत्पादन (ग्रस आउटपुट) गरेका छन्। उक्त उत्पादनका लागि ३५ अर्ब ४० करोड रुपैयाँ बराबरको मध्यवर्ती उपभोग (इन्टरमिडियट कन्जम्प्सन) गरिएको सर्वेक्षणले देखाएको छ।
त्यसैगरी शिक्षण संस्थाहरूको कुल लागत (टोटल इनपुट) करिब ११४ अर्ब रुपैयाँ रहेको छ। सन्दर्भ अवधिमा यी संस्थाहरूले नेपालको अर्थतन्त्रमा करिब १६० अर्ब रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि (ग्रस भ्यालु एडेड) गरेका छन्।
सर्वेक्षणअनुसार शिक्षण संस्थाहरूले तलब, ज्याला तथा अन्य सुविधामा करिब ७५ अर्ब रुपैयाँ खर्च गरेका छन्। साथै सन्दर्भ वर्षसम्म शिक्षण क्षेत्रमा करिब ३०९ अर्ब रुपैयाँ बराबरको स्थिर पुँजी लगानी रहेको पनि पाइएको छ।
सर्वेक्षणको नतिजाले सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरू शिक्षा सेवा विस्तारसँगै रोजगारी सिर्जना, लगानी प्रवर्द्धन तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको देखाएको छ। कार्यालयले सरकारी स्वामित्वबाहेकका निजी, सामुदायिक, गुठी लगायतका शिक्षा क्षेत्रसँग सम्वन्धित विद्यालयको सर्वेक्षण गरेको हो ।


