CLI

वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधार विकासलाई प्राथमिकता

वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आज सम्पन्न २०औँ नगरसभामा शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधि विकासलाई प्राथमिकतामा राख्दै उक्त बजेट प्रस्तुत गरिएको हो।

महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययसहितको बजेट सभामा पेश गरेका हुन्।

महानगरले ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब १९ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

बजेटअनुसार चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। यस्तै, पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत छुट्याइएको छ भने वित्तीय व्यवस्थापनका लागि पाँच करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।

महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट राजस्व संकलन तथा अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ। संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिने महानगरले जनाएको छ।

महानगरले आगामी वर्ष शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक गतिविधि प्रवर्द्धनमार्फत सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।

Leave Your Comment

Related News