CLI

वर्ल्डलिंकको आम्दानी १२ अर्ब १३ करोड, इन्टरनेट बजारमा ३२ प्रतिशत हिस्सा कायम

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक  कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२५ मा  १२ अर्ब १३ करोड १० लाख  रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी सन् २०२४ को तुलनामा करिब ९ प्रतिशतले बढी हो। यसअघि  सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी संरचना हेर्दा इन्टरनेट सेवा नै प्रमुख आधारका रुपमा देखिएको छ।

कम्पनीको वित्तीय अवस्थामा निरन्तर सुधार आएपछि क्रेडिट रेटिङ एजेन्सी ‘केयर रेटिंग्स नेपाल’ ले वर्ल्डलिंकको रेटिङ अपग्रेड गरेको छ। एजेन्सीले कम्पनीको दीर्घकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए’ बाट बढाएर ‘केयर एनपी ए प्लस’ (CARE NP A+) रेटिङ प्रदान गरेको छ।

त्यस्तै, अल्पकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए२ प्लस’ बाट बढाएर ‘केयर एनपी ए१’ (CARE NP A1) रेटिङ दिएको छ। वर्ल्डलिंककले कुल २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कर्जाका लागि यो रेटिङ गराएको हो। यसमध्ये दीर्घकालीन कर्जा १ अर्ब १ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) र चालू आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको वित्तीय कार्यसम्पादनमा आएको निरन्तर सुधार, स्थिर ग्राहक वृद्धि, र पुराना ग्राहक टिकाइराख्ने क्षमताका कारण रेटिङ परिमार्जन गरिएको एजेन्सीले जनाएको छ। बाह्य ऋणमा न्यून निर्भरता, स्थापित साख, अनुभवी व्यवस्थापन र डेटा सेन्टर जस्ता नयाँ प्रविधिमा गरिएको लगानीले कम्पनीको बजार वर्चस्व कायम राखेको छ। यसका लागि आवश्यक पूँजीगत खर्च आन्तरिक स्रोतबाटै धानिएको छ।

कम्पनीको कुल आम्दानीमा इन्टरनेट सेवा (आईएसपी) को हिस्सा ५१ प्रतिशत र अनुगमन तथा प्राविधिक सहयोगको हिस्सा ४३ प्रतिशत रहेको छ। बाँकी ६ प्रतिशत हिस्सा भने नेटवर्क सेवा प्रदायक (एनएसपी) सेवा, उपकरण बिक्री र अन्य स्रोतबाट प्राप्त भएको छ।

विगतका वर्षहरूमा आर्जित सञ्चित नाफा र फिनल्यान्डको ‘फिनिस फन्ड फर इन्डस्ट्रियल कोअपरेसन लिमिटेड’ (फिनफन्ड) बाट प्राप्त नयाँ इक्विटी लगानीले कम्पनीको नेटवर्थ बलियो बनाएको छ। यसले कम्पनीको ऋण–पूँजी संरचना र ऋण तिर्ने क्षमतामा उल्लेखनीय सुधार ल्याउनुका साथै वित्तीय जोखिम घटाएर समग्र सोल्भेन्सी स्थिति सुदृढ बनाएको छ। साथै, सञ्चालन खर्च र ब्याज भुक्तानीमा आएको कमीले नगद प्रवाह (क्यास फ्लो) बढाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ को जुलाईसम्म वर्ल्डलिंककका ग्राहक संख्या १० लाखभन्दा बढी थियो भने बजार हिस्सा करिब ३२ प्रतिशत पुगेको थियो। सन् २०२६ को अप्रिलसम्म आइपुग्दा ग्राहक संख्या थप बढेर १० लाख ८० हजार पुगेको छ, जसले कम्पनीको बजार नेतृत्व अझ मजबुत बनेको देखाउँछ।

वर्ल्डलिंकमा भित्रिएको कुल विदेशी लगानी सन् २०२६ को मध्य-अप्रिलसम्म ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीले सन् २०२३ को जनवरीमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) बाट १ अर्ब ८ करोड रुपैयाँ र मार्चमा डोल्मा इम्प्याक्ट फन्डबाट ९0 करोड रुपैयाँ लगानी प्राप्त गरेको थियो।

त्यसपछि सन् २०२६ को फेब्रुअरीमा फिनिस फन्ड (Finnfund) बाट थप १ अर्ब ३९ करोड रुपैयाँ लगानी भित्रिएको हो। यो सबै लगानी कम्पनीको नेटवर्क विस्तार, पूर्वाधार विकास तथा सेवा सुदृढीकरणका लागि प्रयोग भइरहेको कम्पनीले जनाएको छ।

आईएसपी क्षेत्रको उच्च पूँजी र प्रविधिप्रधान प्रकृति, बढ्दो बजार प्रतिस्पर्धा, विदेशी मुद्राको उतारचढाव र नियामक जोखिमहरू रेटिङका लागि प्रमुख चुनौती हुन्। आगामी दिनमा पूँजी संरचना सन्तुलित राख्दै नाफा र व्यवसायको आकार बढाउने तथा अतिरिक्त ऋणभार नथपी बजार हिस्सा जोगाइराख्ने कम्पनीको क्षमता नै रेटिङको मुख्य कडी रहने देखिन्छ।

Leave Your Comment

Related News