काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरु ‘मर्जर’ पछि ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न सक्ने छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
नयाँ निर्देशन अनुरुप थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा मात्र कार्य गर्नुपर्नेछ । तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेको मितिले ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न यस व्यवस्थाले बाधा पुराउने छैन ।
बैंकबाट “घू वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संलग्न तालिकाबमोजिम संशोधन परिमार्जन थप गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको जनाएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि बुधबार उक्त निर्देशन जारी गरेको हो ।
यसअघिको व्यवस्थामा भने थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछन्। तर, थोक कर्जा प्रदायक लघुवित्त
वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पराउने छैन भनिएको थियो ।


