CLI

प्रभु बैंक कर्जा प्रकरण : ओमप्रसाद पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौं । प्रभु बैंकको कर्जा हिनामिना प्रकरणमा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ।

बुधबार उच्च अदालत पाटनको न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।

अदालतले पाण्डेको बयान, राष्ट्र बैंकको प्रतिवेदन र सिआईबीको अनुसन्धानलाई आधार मान्दै उनलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले सोमबार पाण्डेसहित १२ जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। पक्राउ परेका पाण्डेबाहेक अन्य प्रतिवादीलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको छ।

सीआईबीका अनुसार राम जानकी हेल्थ फाउन्डेसनलाई प्रवाह गरिएको १६ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंका गरिएको छ। अनुसन्धानका क्रममा सेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरिएको देखिएपछि मुद्दा अघि बढाइएको जनाइएको छ।

मुद्दामा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, मणिराम पोखरेल, रिवश श्रेष्ठ र रश्मी पन्तलाई पनि प्रतिवादी बनाइएको छ।

त्यस्तै, राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डेसहित रिभान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचनविरुद्ध पनि अभियोग दायर गरिएको छ।

सीआईबीले करिब आठ महिनासम्म अनुसन्धान गरेपछि उक्त मुद्दा दायर गरेको जनाएको छ। यसैबीच प्रभु बैंकसँग सम्बन्धित थप दुई बैंकिङ कसुरका मुद्दासमेत उच्च अदालत पाटनमा दर्ता भइसकेका छन्।

Leave Your Comment

Related News