काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ । मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालय स्तरीय परीक्षाका नतिजा विगतको तुलनामा निकै छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको देखिएको छ ।
मन्त्रालयले सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया र परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्ने देखि डिजिटल सुशासनको अवधारणलाई प्रभावकारी कार्यान्वयनमा लगेको छ । विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको छ ।
शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर २ समेटिएको शिक्षा मन्त्रालय अन्तर्गतको मुख्य काममा विश्वविद्यालयहरू र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको थियो ।
उच्च शिक्षातर्फ विश्वविद्यालयहरू तथा सीटीईभीटीले पनि परीक्षा सम्पन्न भएको करिब दुई महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन् । केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती देखिए पनि अधिकांश शैक्षिक संस्थाले कार्यपालिका अनुसार काम गरिरहेको मन्त्रालयको भनाइ छ ।
शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर २ बमोजिमको मुख्य १० कार्यको प्रगति विवरण मन्त्रालयले अद्यावधि गरेको हो । सोहीअनुसार एसइई २०८२ को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ । यसअघि नतिजा प्रकाशनमा लामो समय लाग्दा विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका थिए ।
त्यसै गरी राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको छ । अघिल्ला वर्षहरूमा यही नतिजा प्रकाशन हुन करिब तीन महिना लाग्ने गरेको थियो । मन्त्रालयले यसलाई परीक्षा व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
डिजिटल सुशासन प्रवद्र्धनअन्तर्गत वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई थप सहज बनाउन विश्वविद्यालयहरूको तथ्याङ्क प्रणालीसँग एपीआई लिंक स्थापना गरिएको छ । यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता घट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौँ विश्वविद्यँलय र त्रिभुवन विश्वविद्यालयको तथ्यांक प्रणाली सँग एपीआई लिंक स्थापना भएको छ ।
समकक्षता प्रमाणपत्रको भेरिफिकेसन प्रक्रिया पनि छिटो बनाइएको छ । आवश्यक कागजात पूरा भएका आवेदकलाई आवेदन दिएको दिनमै प्रमाणपत्र उपलब्ध गराउन थालिएको छ, जसका लागि पहिले दुईदेखि तीन दिन लाग्ने गरेको थियो ।
यसैबीच, शिक्षकहरूको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । एपमार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन् ।
मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ ।


