काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकृतहरूलाई कालो सिसा हटाउने अभियान प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका हुन्।
निर्देशनका क्रममा उनले आफूले प्रयोग गर्दै आएको गाडीमा रहेको कालो सिसासमेत हटाउन आग्रह गर्दै भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्।’
यसअघि गृहमन्त्रीले प्रयोग गर्ने सवारी साधनमा कालो सिसा राख्ने प्रचलन रहे पनि गुरुङ प्रायः आफ्नै निजी गाडीमा यात्रा गर्दै आएका छन्। उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्ने गाडीको कालो सिसासमेत हटाउने तयारी गरेको जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको छ। पहिलो चरणमा सिसामा टाँसिएका कालो स्टिकर हटाउने कार्य भइरहेको छ।
यस्तै, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनका सम्बन्धमा आवश्यक व्यवस्था गर्न ट्राफिक प्रहरीले सोमबार गाडी बिक्रेता कम्पनीहरूसँग छलफलसमेत गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधन भेटिएकाले त्यसबारे समाधान खोज्न सम्बन्धित कम्पनीहरूसँग परामर्श भइरहेको जानकारी दिए।


