भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको करिब २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र भारतीय मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुराव रहेका छन्।
प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५३ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकलमाथि शङ्का लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका आईफोनहरूको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ। साथै, मुरावले चलाएको भारतीय मोटरसाइकलको अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका आईफोन र मोटरसाइकलसहित कुल २० लाख ५० हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका मुराव तथा बरामद सामानलाई नियन्त्रणमा लिएर भन्सार छलीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


