काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय संरक्षण तथा वन्यजन्तु विज्ञलाई मनोनयन गरेको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री तथा कोषकी अध्यक्ष गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐनबमोजिम बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनयन गरेकी हुन्।
मन्त्रालयका अनुसार बेलायतस्थित यूके नेपाल ट्रस्टका अध्यक्ष लर्ड क्यामोस विलियम स्टोनरले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
यस्तै, डा. एरिक डाइनरस्टाइनले सन् १९७० र १९८० को दशकमा चितवनमा गैंडा तथा बाघ संरक्षणसम्बन्धी अनुसन्धान गरेका थिए। उनले नेपाल, भारत र भुटानलाई जोड्ने ‘तराई आर्क ल्यान्डस्केप’ अवधारणाको विकासमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसैगरी, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्राध्यापक विन्डी राइट विगत एक दशकदेखि नेपालमा सालक संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
सरकारले यस मनोनयनबाट नेपालको प्रकृति तथा वन्यजन्तु संरक्षण अभ्यासलाई अन्तर्राष्ट्रिय अनुभव, वैज्ञानिक अनुसन्धान र आधुनिक प्रविधिसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
मन्त्री चौधरीले कोषको संस्थागत साख र क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय रूपमा स्थापित विज्ञहरूलाई जिम्मेवारी दिइएको बताउँदै कर्मचारी प्रशासन विनियमावली पनि छिट्टै संशोधन गरिने जानकारी दिइन्।
उनले नवगठित उच्चस्तरीय समितिले वैज्ञानिक वन्यजन्तु व्यवस्थापन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।


