CLI

जीवित गिलको उद्धार अन्तिम चरणमा

काठमाडौं ।भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको एक सातापछि पनि साततले भवनको भग्नावशेषमुनि जीवित रहेका ४३ वर्षीय सुरक्षा गार्ड हर्नान गिलको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । सात देशका सयौँ उद्धारकर्मीले लगातार तीन दिनदेखि चौबीसै घण्टा सञ्चालन गरेको अभियानपछि बुधबार साँझसम्म उनीहरू गिलको अवस्थिति रहेको स्थानबाट करिब एक मिटरको दूरीमा पुगेका थिए ।

गिल जुन २४ मा आएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पका बेला तटीय क्षेत्र काटिया ला मारस्थित आफू कार्यरत भवनको सुरक्षा बुथभित्र फसेका थिए । भेनेजुएला, चिली, संयुक्त राज्य अमेरिका, पोर्चुगल, कोस्टा रिका, एल साल्भाडोर र मेक्सिकोका उद्धार टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।

चिलीको फायर सर्भिसले सार्वजनिक गरेको भिडियोमा गिलले टाउको चलाइरहेको देखिएको छ । उनले अनुहारमा मास्क लगाएका थिए भने दाहिने आँखामा चोटका कारण रगत देखिएको थियो । उनकी श्रीमती गुस्बिमार गोन्जालेजले यति धेरै देश एकजना व्यक्तिको उद्धारका लागि एकसाथ जुटेको दृश्य आफूले पहिलो पटक देखेको बताउँदै यसलाई चमत्कारजस्तै अनुभव भएको प्रतिक्रिया दिए ।

भूकम्पमा करिब दुई हजार ३०० जनाको मृत्यु भइसकेको छ भने हजारौँ मानिस अझै बेपत्ता रहेकाले उद्धार कार्य निरन्तर जारी छ । गिलसम्म सुरक्षित रूपमा पुग्न उद्धारकर्मीहरूले थप क्षति हुन नदिन भवनको जगलाई काठ र फलामले मजबुत बनाएका छन् । अभियानका क्रममा उनलाई पानी उपलब्ध गराइएको छ भने हावाको आपूर्तिका लागि विशेष ट्युबसमेत जडान गरिएको छ ।

उद्धार टोलीले दुई फरक दिशाबाट एकैसाथ मार्ग बनाएर अघि बढिरहेको जनाएको छ । चिलीको उद्धार टोलीका नेता क्रिस्टियन भेराका अनुसार भवनभित्र रहेका ठूला स्तम्भ र अस्थिर संरचनाका कारण गिलसम्म पुग्न निकै कठिन भएको छ । मङ्गलबार भवन केही सरेपछि सुरुमा बनाइएको ६० गुणा ६० सेन्टिमिटरको सुरुङमार्गको योजना त्यागेर नयाँ रणनीतिअनुसार उद्धार कार्य अगाडि बढाइएको उनले बताए ।

Leave Your Comment

Related News