काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवा लिएको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार झाले सन् १९९८ मा Magadh University, Bodh Gaya बाट प्राप्त गरेको भनिएको B.Sc. सम्बन्धी मार्कसिट, माइग्रेसन (Emigration) प्रमाणपत्र, ट्रान्सफर सर्टिफिकेट तथा प्रोभिजनल सर्टिफिकेटलगायतका शैक्षिक प्रमाणपत्रहरू झुट्टा तथा नक्कली रहेको अनुसन्धानबाट पुष्टि भएको छ।
आरोपपत्रअनुसार उनले ती नक्कली प्रमाणपत्रहरू पेस गरी वि.सं. २०६४ मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा प्रमुख सहायक (सहायक केमिष्ट) पदमा नियुक्ति लिएका थिए। त्यसपछि सोही शैक्षिक प्रमाणपत्रका आधारमा सहायक प्रबन्धक (सातौं तह) पदमा बढुवा भई पद, लाभ र सुविधा समेत लिएको अख्तियारको दाबी छ।
यस आधारमा आयोगले झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कसुर कायम गरी सोही दफाअनुसार कैद तथा जरिवाना सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।


