CLI

विभागले किन रोक्यो ३ लाख ड्राइभिङ लाइसेन्सको छपाई ?

काठमाडौं । करिब ३ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ रोकिएको छ। एक वर्षभन्दा कम म्याद बाँकी भएका लाइसेन्सहरुको छपाई  रोकिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताएका छन्।

उनका अनुसार लामो समयदेखि छपाइ प्रक्रिया रोकिँदा धेरै सेवाग्राहीहरुको लाइसेन्स हातमा पर्नु अगावै वा परेको केही दिनमै लाइसेन्स  प्रयोग मिति सकिने हुँदा हाललाई लाइसेन्स छपाई स्थगित गरिएको हो ।

हाल दैनिक रुपमा छापिने सयौँको संख्याका लाइसेन्सहरुको अवधि सकिएको र सकिने चरणमा रहेको छ । सेवाग्राहीले लाइसेन्स हातमा पर्ने वित्तिकै नविकरण गर्नुपर्ने वाध्यता रहेको कारण लाइसेन्स छपाई स्थगित गरिएको हो । त्यसैले गर्दा सेवाग्राहीलाई अवधि सहितको नयाँ लाइसेन्स दिने उद्देश्य विभागको रहेको छ । ‘सेवाग्राहीले लाइसेन्स लिन पाएको छैन नविकरण गर्नुपर्ने अवस्था भएको हुँदा, एकैपटक अवधि सहितको नयाँ लाइसेन्स दिने उद्देश्यले अवधि सकिन लागेको वा समाप्त भएको लाइसेन्सको छपाई स्थगित गरिएको हो,’ उनले इक्विटी नेपालसँग भने,‘ त्यसैले गर्दा सीमित सेवाग्राहीको लाइसेन्स छाप्ने काम रोकिएको हो भने अन्य अवधि हुने सेवाग्राहीको लाइसेन्स छपाइ भने निरन्तर हुनेछ।’

उनका अनुसार, “लाइसेन्स छपाइ र नवीकरणको प्रक्रियामा सेवाग्राहीहरुलाई सहज बनाउन एक वर्षभन्दा कम अवधि बाँकी भएका लाइसेन्सहरुको छपाइ हाललाई रोकिएको हो। लाइसेन्स हातमा पर्दासम्म त्यसको म्याद सकिने सम्भावना उच्च हुने भएकाले सेवाग्राहीको हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।

यसरी म्याद गुज्रिन लागेका लाइसेन्सवाहकहरुलाई नयाँ लाइसेन्स छपाउनुको साटो नवीकरण गर्न प्रोत्साहित गरिँदैछ। असार महिनाभित्रै नवीकरण गर्दा पुरानै राजस्व दरमा १० वर्ष अवधिको नयाँ लाइसेन्स प्राप्त हुनेछ। यसबाट सेवाग्राहीले दुई पटक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् र  आर्थिक रुपमा पनि फाइदा पुग्नेछ।

तर, यो नियम अनिवार्य भने गरिएको होइन। यदि कुनै सेवाग्राहीलाई आफ्नो एक वर्षभन्दा कम म्याद भएको लाइसेन्स नै आवश्यक पर्छ र उनीहरुले माग गर्छन् भने निवेदनका आधारमा उक्त लाइसेन्स छापेर उपलब्ध गराइनेछ। यो व्यवस्थाका बारेमा सेवाग्राहीहरुलाई सूचित गर्न आधिकारिक सूचना जारी गरिने तयारी भइरहेको छ।”

साथै, हालसम्म २४ लाख लाइसेन्स छापिइसकेको उनले बताए। बाँकी रहेका करिब २ लाख लाइसेन्स आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा छापिसकिने उनको भनाइ छ। त्यस्तै, छापिएर विभिन्न यातायात कार्यालयहरुमा पुगेका लाइसेन्सहरु मध्ये ३५ प्रतिशत सेवाग्राही मात्र लिन आएको उनी बताउँछन्। छापिएका लाइसेन्सहरु सेवाग्राहीले जुनसुकै बेलामा लैजान सक्ने विभागले जनाएको छ ।

Leave Your Comment

Related News