RE
Global College

कर्णाली घटनामा उद्धारमा ढिलाइ भएको भन्दै सरकारमाथि ज्ञानेन्द्र शाहीको आलोचना

काठमाडौं । ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धार कार्यमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद शाहीले विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने प्रतिबद्धता सरकारले संसदमा जनाए पनि कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको बताएका हुन्।

उनले संकटको समयमा नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको प्रतीक्षामा रातभर जागा बस्न बाध्य भएको र अझै राज्यको प्रभावकारी उपस्थितिको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन्।

शाहीले विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित भए त्यसको कुनै अर्थ नरहने भन्दै यस्तो संवेदनशील अवस्थामा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताएका छन्।

उनले उद्धार कार्यमा प्रत्येक क्षण महत्त्वपूर्ण हुने उल्लेख गर्दै ढिलो भएको हरेक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको बताएका छन्। साथै, सरकारले राजनीति भन्दा माथि उठेर मानवताको पक्षमा उभिनुपर्ने र उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेका छन्।

NECO

Leave Your Comment

Related News