CLI

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्री यादवको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाएको भन्दै प्रविधिमैत्री सेवा विस्तार र पारदर्शी सेवा प्रवाहमा जोड दिएकी छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै मन्त्री यादवले मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित कार्यालयका विभिन्न शाखाको निरीक्षण गरी सेवाग्राहीलाई सहज, छिटो र झन्झटरहित सेवा दिन कर्मचारीलाई निर्देशन दिइन्।

अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले सरकारी शासकीय सुधारसम्बन्धी निर्देशनअनुसार कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिइन्। उनका अनुसार अब कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालयमा उपस्थित हुनुपर्ने आवश्यकता हटेको छ। आवश्यक कागजात पेशदेखि दर्ता प्रक्रिया अनलाइनमार्फत घरबाटै पूरा गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यालयका अनुसार कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने व्यवस्था पनि हटाइएको छ, जसले सेवाग्राहीको समय र लागत दुवै बचत गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, सेवाग्राहीका जिज्ञासा र गुनासोको छिटो समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमार्फत चौबीसै घण्टा कम्पनी दर्तासम्बन्धी सूचना तथा आवश्यक सहयोग उपलब्ध गराइने कार्यालयले जनाएको छ।

निरीक्षणपछि मन्त्री यादवले प्रविधिको प्रभावकारी प्रयोगलाई थप विस्तार गर्दै सेवा प्रवाहलाई पारदर्शी, सरल र नागरिकमैत्री बनाउन निर्देशन दिइन्। उनले सर्वसाधारणले अनावश्यक सास्ती भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न कर्मचारीलाई आग्रह गरिन्।

यसैबीच, कम्पनी रजिष्ट्रार कार्यालयले डिजिटल प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै जनशक्ति व्यवस्थापनमा सुधार गर्ने प्रस्ताव पनि अघि सारेको छ। प्रविधिको प्रयोगबाट कम जनशक्तिबाट पनि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्न सकिने निष्कर्षसहित कार्यालयले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ।

Leave Your Comment

Related News