काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। विपद् आइपरेमा तत्काल परिचालन हुने गरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि प्रहरी चौकी स्तरसम्मका सबै प्रहरी इकाईमा आवश्यक जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा स्वीकृत ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुरूप नेपाल प्रहरीले पनि ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ तयार गरी कार्यान्वयनमा ल्याएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत पहिचान गरिएको छ। साथै, विपद्को प्रकृतिअनुसार उद्धार सामग्रीहरूको मर्मत–सम्भार गरी तयारी अवस्थामा राखिएको तथा आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरेर जनशक्ति परिचालनको व्यवस्था मिलाइएको छ।
प्रहरीले विपद् प्रतिकार्यका लागि विशिष्टीकृत इकाईहरूमा समेत विशेष तयारी गरेको जनाएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन तथा प्रत्येक प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा आवश्यक उपकरणसहित तयारी अवस्थामा रहनेछन्।
त्यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी चौकी स्तरसम्मका इकाईबाट विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरी कर्मचारी तत्काल परिचालन गर्न सकिने गरी तयारी गरिएको छ। आवश्यकता अनुसार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र तथा प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मबाट थप जनशक्ति तत्काल वा चरणबद्ध रूपमा परिचालन गरिने प्रहरीले जनाएको छ।
मनसुनको जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धार अभ्यास सञ्चालन गर्नुका साथै जनधनको क्षति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ। विपद् व्यवस्थापनमा संलग्न हुने प्रहरी कर्मचारीलाई उद्धारसम्बन्धी विशेष अनुशिक्षणसमेत प्रदान गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय तथा नेपाल प्रहरी केनाइन कार्यालयका जनशक्तिलाई पनि मनसुन पूर्वतयारी योजनाअनुसार आवश्यक समन्वयसहित तयारी अवस्थामा राखिएको छ।
विपद्का बेला उद्धार सामग्री अभाव भएमा नजिकको प्रहरी गण वा विपद् विशिष्टीकृत कार्यालयबाट सामग्री उपलब्ध गराइने तथा आवश्यक परे स्थानीय तह र विभिन्न संघसंस्थासँग समन्वय गरी थप सामग्री व्यवस्थापन गरिने नेपाल प्रहरीले जनाएको छ।


