CLI

मन्त्री गौरी यादब र चिनिया उपमन्त्री यान दोङबीच भेट,द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सहमति

काठमाडौं । नेपाल र चीनबीच विद्यमान आर्थिक साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उक्त सहमति बनेको हो।

भेटका क्रममा मन्त्री गौरी कुमारी यादवले नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक र व्यापारिक क्षेत्रमा अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताईन्।

उनले दुई देशबीच व्यापार, लगानी, औद्योगिक विकास, पूर्वाधार निर्माण, सीमापार पूर्वाधार विकास तथा आपूर्ति शृङ्खला सुदृढीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएकी हुन्।

मन्त्री यादवले नेपालमा सिर्जना गरिएको लगानीमैत्री वातावरण, कानुनी तथा नीतिगत सुधार र औद्योगिक विकासका प्रयासहरूबारे जानकारी गराउँदै नेपालका उत्पादनमूलक क्षेत्रहरूमा चिनियाँ लगानी थप अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्।

चिनियाँ पक्षको प्रतिबद्धता

चिनियाँ वाणिज्य उपमन्त्री यान दोङले नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीन सदैव प्रतिबद्ध रहेको बताएकाछन्। उनले दुवै देशका सरकारस्तरमा रहेका संयन्त्रहरूमार्फत नियमित संवाद र बैठकहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै, तातोपानी तथा रसुवा नाकामा व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग प्रदान गर्न चीन सकारात्मक रहेको उल्लेख गर्दै नेपाललाई चीनमा आयोजना हुने विभिन्न व्यापार मेला तथा एक्स्पोहरूमा सहभागी गराउन आवश्यक सहजीकरण गर्ने जानकारी दिएकाछन्।

उपमन्त्री दोङले दक्षिण एसियाका अन्य मुलुकहरूमा जस्तै नेपालका सम्भावित निर्यातयोग्य वस्तुहरू, विशेष गरी चिया, जडीबुटी तथा अन्य उत्पादनहरूको सम्भाव्यता सम्बन्धी संयुक्त अध्ययन सञ्चालन गर्न सकिने धारणा राखेकाछन्।

सो क्रममा उनले सन् १९७८ पछि चीनले अवलम्बन गरेको खुला आर्थिक नीति, वैदेशिक लगानी प्रवर्द्धनका लागि दिइएका कर सहुलियत, व्यावसायिक वातावरण सुधार तथा प्रशासनिक सहजीकरणका सफल अनुभवहरू नेपालका लागिसमेत उपयोगी हुन सक्ने उल्लेख गर्दै व्यापार तथा आर्थिक सुधारका लागि नेपालले एकीकृत अवधारणा अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन्।

लगानीमैत्री वातावरण र एकद्वार प्रणाली

उपमन्त्री यान दोङले नेपालको वैदेशिक प्रत्यक्ष लगानीको प्रमुख स्रोत मुलुकमध्ये चीन अग्रणी रहेको स्मरण गराउँदै चिनियाँ व्यापारी तथा लगानीकर्ताकालागि एकद्वार सेवा प्रणाली मार्फत थप सहज, पारदर्शी र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सके नेपालमा चिनियाँ लगानी अझ व्यापक रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे। उनले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयको साझा उद्देश्य व्यापार तथा लगानी प्रवर्द्धन रहेकाले आगामी दिनमा दुवै मन्त्रालयबीच अझ घनिष्ठ समन्वय र सहकार्य रहने धारणा राखेकाछन्।

भेटवार्तामा नेपाल र चीनबीच विद्यमान घनिष्ठ मित्रता, आर्थिक साझेदारी तथा जनस्तरमा रहेको सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच साझा समझदारी बनेको छ। भेटमा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू र चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave Your Comment

Related News