CLI

निजी क्षेत्रका प्रमुख छातासंगठनका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने-‘ठोस सुधार प्रस्ताव ल्याउनुहोस्, सरकार कार्यान्वयन गर्न तयार छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार र समृद्धि हासिल गर्ने विषयमा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीआइएन) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहितका प्रतिनिधिसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रको बारेमा निजी क्षेत्रका अध्यक्ष सहितका पदाधिकारीसँग छलफल गरेका हुन् ।

छलफलको क्रममा मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल बढाउने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै यो पुरा गर्ने मेरुदण्डको रुपमा निजी क्षेत्र रहनु पर्ने बताए । उनले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक ,कानूनी जटिलता समाधान गर्न सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

सो भेटमा सहभागी नेपाल चेम्बर कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास, लगानी योग्य वातावरण निर्माण गर्न निजी क्षेत्र नै मुख्य भुमिका हुने भएकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । छलफलमा उनले कुनै उद्योगी तथा व्यवसायीलाई धरपटक गर्ने सरकारको नीति नरहेको बताएका थिए ।
सो छलफलमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास गरी समृद्धि हासिल गर्न नीतिगत र कानूनी समस्या समाधान गर्न तत्पर रहेको बताएका मल्होत्राले  जानकारी दिए ।

मल्होत्राका अनुसार प्रधामन्त्री शाहले निजी क्षेत्रमा देखिएको समस्या समाधान गर्न र नियमित छलफल गरि लगानीको वातावरण सिर्जना गरी समृद्ध अर्थतन्त्र बनाउनका लागि लगानी गर्दै आएका उद्योगी एवम व्यवसायीको समस्या पहिचान गरी समाधान गर्न कार्यदल गठन गर्ने बताए । उक्त कार्यदलमा निजी क्षेत्रका प्रतिनिधि, सरकारका प्रतिनिधि र विज्ञ सदस्यको व्यवस्था गरिने समेत प्रधानमन्त्रीको भनाई रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहलाई एफएनसीसीआई, सीआइएन र नेपाल चेम्बर अफ कर्मसका पदाधिकारीले मौद्रिक नीतिमार्फत् सहजीकरण खोजेको बताएका थिए । त्यसपश्चयात बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र निजी क्षेत्रबीच छलफल तय भएको छ । छलफल पश्चयात राष्ट्र बैकले परिपत्र जारी गर्दै एफएनसीसीआई, सीआइएन र नेपाल चेम्बर अफ कर्मसका पदाधिकारीले राखेको माग सम्बोधन गर्ने तयारी रहेको छ ।

शाह प्रधानमन्त्री बने पश्चात नीजि क्षेत्रसँगको यो छलफल पहिलो हो । उक्त छलफल करिब २ घण्टा ३० मिनेट बढी चलेको थियो ।छलफलमा उनले उद्योगी एवम व्यवसायीका समस्या समाधान गर्नु पर्ने विषयमा कहाँ के गर्नु पर्ने हो ठोस प्रस्ताव आफूसमक्ष पेश गर्न आग्रह गरे । उनको निजी क्षेत्रसँगको भेटघाट नियमित हुने पनि बताइएको छ ।

सो बैठकको समन्वय गरेकी र बैठकमा सहभागी रास्वपा सांसद एवम उद्योगी विदुषी राणाका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले छाता संगठनमा अध्यक्ष सहित प्रतिनिधिको भेट नीजी क्षेत्रको समास्या सुन्ने र समाधान गर्न सुरु गरेको बताइन । उनले प्रधानमन्त्री र उद्योगबीचको यो भेटवार्ताको सुरुवात भएको समेत जानकारी दिईन् । उनका अनुसार आजबाट प्रधानमन्त्रीले उर्जा, उडड्यान, निर्माण व्यवसायी , उत्पादन, सूचना प्रविधि (आईटी), निर्यात, धितोपत्र बजार, तयारी पोषाक लगायतका उद्योग क्षेत्रका प्रतिनिधिसँग सिलसिलेबार छलफल गर्ने तय भएको छ । छलफलमा प्रधानमन्त्रीले उनीहरुको समस्या पहिचान गर्ने र समाधानको लागि काम गर्ने तयारी रहेको छ । सोही क्रममा बिहीबार निर्माण व्यवसायीसँग छलफल हुदैछ ।

छलफलको बाताबरण बनाउन समन्वय गरेका बैठकमा एफएनआइसीसीका उद्योग समिति सभापति उज्वल श्रेष्ठका अनुसार छलफल एकदमै सौहार्दतापूर्ण भएको थियो । प्रधानमन्त्रीले उद्योगी तथा व्यवसायीको कुरा सुन्ने मात्र भन्दा पनि प्रश्नोत्तर समेत भएको कारणले छलफल फलदायी बनेको उनले इक्विटी नेपाललाई बताए ।

सभापति श्रेष्ठले इक्विटी नेपाललाई बताएअनुसार प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीलाई समस्या मात्र राख्ने नभई त्यसको समाधान र दीर्घकालीन रणनीतिको विषय पनि प्रस्तुत गर्न आग्रह गरे ।

बैठकमा सहभागी प्रतिनिधि मण्डलले सरकारसँग बजेट र मौद्रिक नीति वरिपरि मात्र छलफल हुने र हाम्रो समस्याको जानकारी गराउने सरकारले समयको चापले त्यसलाई सम्बोधन गर्न नसक्ने बिषय उठाएका थिए । सो बिषयमा प्रधामन्त्रीले उद्योगी व्यवसायीसँग नियमित भेटवार्ता क्यालेण्डर बनाएर छलफलको वातावरण आफूले बनाउने बताएका थिए । सो भेटमा उनले वातावरणीय प्रभाव मूल्याङ्कनको बिषयमा सरकारको नीति परिवर्तन गरी सहज बनाउन लागेको जानकारी दिएका थिए । भेटमा प्रतिनिधि मण्डलले सीमा र उद्योग क्षेत्रमा हुने ढुवानीको विषयको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमत्रीले विशेष आर्थिक क्षेत्र (सेज) तथा औधोगिक करिडोरमा निजी क्षेत्रलाइ सहभागि गराउने विषयमा पनि सरकारले काम गरिरहेको बताएका थिए ।

उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन् । सो भेटमा प्रधानमन्त्री शाहलाई निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिएका छन् । उनीहरुको सुझाव पश्चात प्रधानमन्त्रीले कहा के –के सुधार आवश्यक सहितको ठोस एजेन्डा माग गरे ।

प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए । उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारेको बैठकमा सहभागी सभापति श्रेष्ठले इक्विटी नेपालललाई बताए ।

उक्त छलफलमा महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र सीएनआईका महानिर्देशक डा. घनश्याम ओझा, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी रहेका थिए । भने प्रधानमन्त्री शाहको टोलीमा भने उनको सल्लाहकार समूह र सांसद विदुषी राणा सहभागी थिए ।

निजी क्षेत्रसम्वद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवद्र्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबीचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 

Leave Your Comment

Related News