CLI

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

काठमाडौं । नेपालमा स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने उद्देश्यसहित स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ आयोजना गर्न द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)बीच रणनीतिक साझेदारी भएको छ ।

सम्झौताअनुसार क्यान महासंघले प्रतियोगिताको स्ट्राटेजिक अर्गनाइजिङ पार्टनरका रूपमा भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाले यो सहकार्यलाई नेपालभर रहेका नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीलाई विश्वव्यापी अवसरसँग जोड्ने तथा देशमा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने अभियानका रूपमा लिएका छन् ।

सम्झौताअनुसार देशका विभिन्न प्रदेशमा स्थानीय स्तरका स्टार्टअप पहिचान गर्न विशेष प्रतियोगिता सञ्चालन गरिनेछ । साथै, सहभागी उद्यमीलाई उद्योगका अनुभवी नेतृत्वकर्ता, सफल व्यवसायी तथा प्राविधिक विज्ञसँग जोडिने र स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहकार्यका अवसर उपलब्ध गराइने जनाइएको छ ।

सम्झौतापछि ग्रुप सीईओ राजन कँडेलले नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता प्रमुख आधार रहेको उल्लेख गर्दै क्यान महासंघसँगको सहकार्यले नेपाली स्टार्टअपलाई मेन्टरसिप, लगानी तथा अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्ने बलियो राष्ट्रिय मञ्च उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासंघ स्थापना कालदेखि नै सूचना प्रविधि र नवप्रवर्तनको विकासमा सक्रिय रहेको उल्लेख गर्दै यो सहकार्यले नेपाली प्रविधि उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने बताए ।

पेगासस टेक भेन्चर्सद्वारा विश्वभर आयोजना हुने स्टार्टअप वर्ल्ड कप ६० भन्दा बढी देशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा हो । नेपाल च्याप्टरका विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै, विजेताले १० लाख अमेरिकी डलर (करिब १३ करोड रूपैयाँभन्दा बढी) बराबरको लगानी पुरस्कार प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।

आयोजकका अनुसार यो पहलले नेपाली स्टार्टअपलाई आइडियादेखि व्यवसाय विस्तारसम्म आवश्यक वातावरण उपलब्ध गराउने, डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने तथा नेपाली प्रविधि र उद्यमशीलतालाई विश्वमञ्चमा स्थापित गर्न योगदान गर्ने अपेक्षा गरिएको छ ।

Leave Your Comment

Related News