काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएका उनीहरूले स्वदेश फर्किएपछि आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
सहभागी युवाले जतिसुकै विदेशको सपना देखे पनि अन्ततः स्वदेश नै प्यारो हुने भएकाले यहीँ केही गरेर देश र आफ्नै हितमा योगदान गर्न चाहेको बताए । उनीहरूले स्वदेशमै उद्यम गर्न नीतिगत समस्या रहेको, राज्यले उद्यमशील व्यक्तिको पहिचान गर्न नसकेको तथा उनीहरूलाई लक्षित अनुदान, योजना र बजेटको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै विदेश गएका तथा विदेश जाने तयारीमा रहेका लाखौँ युवा चिन्तित रहेको वास्तविकता सुनाए ।
उनीहरूले स्थानीय सरकारले सीप विकाससँगै उद्यम सञ्चालनका लागि आवश्यक पुँजीको व्यवस्था गरी युवालाई आत्मनिर्भर बनाउनुपर्ने माग पनि गरेका छन् ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रोजगार संयोजक अल्का मिश्रले वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोतसाधन र सीपको उपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन् ।


