काठमाडौं । नेपालमा सञ्चालित राष्ट्रियस्तरका विकास बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ८ वटा विकास बैंकले जेठ मसान्तसम्म कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यी बैंकहरुले ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए। गत आवको तुलनामा बैंकहरुको समग्र नाफा ३१.७८ प्रतिशतले बढेको छ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने नाफा वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि देखिएको छ।
चालू आर्थिक वर्षको जेठसम्म गरिमा विकास बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आवको तुलनामा ३३ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा गरिमाले १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो। धेरै नाफा कमाउने सूचीमा दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा २०.२३ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवमा बैंकको नाफ १ अर्ब ५ करोड १७ लाख रुपैयाँ थियो ।
त्यस्तै, तेस्रो स्थानमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जेठमसान्तसम्म १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ७३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले आफ्नो नाफामा ३७.९८ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू वर्षको ११ महिनामा अन्य विकास बैंकहरुको नाफा पनि सन्तोषजनक देखिएको छ। यस अवधिमा ज्योति विकास बैंकले ८१ करोड ६१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यसैगरी महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५२ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन्।



