CLI

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४६ अर्ब नाघेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा पनि नबिकेका कारण बैंकहरु थलिने अवस्थामा पुगेका छन्। पछिल्लो ११ महिनामा बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) पनि बढ्दै गएको छ, जसले गर्दा गैरबैंकिङ सम्पत्ति बढाउन मद्दत पुगेको हो।

अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक दर्जन बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको छ। यता ७ बैंकहरुले भने आफ्नो यस्तो गैरबैंकिङ सम्पत्ति घटाएका छन्। चालू आवमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकको छ। यस बैंकको यस्तो सम्पत्ति १८.२३ प्रतिशतले बढेर ६ अर्ब २३ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५ अर्ब ३१ करोड ८० लाख रुपैयाँ रहेको थियो।

प्रतिशतका आधारमा हेर्दा प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति १०७ प्रतिशतले बढेको छ। यता माछापुच्छ्रे बैंकको भने ३२.७९ प्रतिशतले घटेको छ। गत आवको सोही अवधिमा यस बैंकसँग ९६ करोड ७० लाख रुपैयाँ रहेकोमा चालू आवमा बैंकले गैरबैंकिङ सम्पत्ति घटाएर ६३ करोड रुपैयाँमा सीमित गरेको छ।

एभरेष्ट बैंकले पनि गैरबैंकिङ सम्पत्ति १७.४३ प्रतिशतले घटाएको छ। यस बैंकको यस्तो सम्पत्ति ५१ करोड ५० लाख रुपैयाँ कायम भएको छ, जुन गत आवको सोही अवधिमा ६२ करोड ४० लाख रुपैयाँ रहेको थियो।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकको छ। नेपाल बैंकको एनबीए १४.४७ प्रतिशतले बढे पनि अन्य बैंकको तुलनामा सबैभन्दा कम अर्थात् २३ करोड ३६ लाख रुपैयाँ मात्र रहेको छ।

Leave Your Comment

Related News