CLI

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल : यामालको शतप्रतिशत रेकर्ड कि एम्बाप्पेको बदला ?

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा जुलाई १५ मा नेपाली समय अनुसार बिहान १२:४५ बजे अमेरिकाको डालसस्थित ‘डलास स्टेडियम’ मा दुई शक्तिशाली टोली स्पेन र फ्रान्स आमनेसामने हुँदैछन्। यो खेल मात्र दुई राष्ट्रको भिडन्त नभएर वर्तमान विश्व फुटबलका दुई सुपरस्टारहरु— फ्रान्सका कप्तान किलियन एम्बाप्पे र  स्पेनका युवा विङ्गर लामिन यामाल  बीचको कडा टक्करको रुपमा हेरिएको छ।

हेड-टु-हेड रेकर्ड: राष्ट्रिय टोलीदेखि क्लबसम्म यामालकै दबदबा

यदि यी दुई खेलाडीबीचको नकआउट  र ठूला खेलहरुको इतिहास हेर्ने हो भने लामिन यामालको रेकर्ड किलियन एम्बाप्पेविरुद्ध शतप्रतिशत रहेको छ। हालसम्म भएका यस्ता पाँच महत्वपूर्ण भेटहरूमा यामालको टोलीले सबै खेल जितेको छ भने एम्बाप्पेले लगातार हार ब्यहोर्नु परेको छ।

अन्तर्राष्ट्रिय खेलतर्फ युरो २०२४ को सेमिफाइनल (२-१ को जित) र सन् २०२५ को नेसन्स लिग फाइनल (५-४ को जित) दुवैमा यामालकै स्पेनिस टोलीले फ्रान्सलाई स्तब्ध पारेको थियो। यी खेलहरुमा यामालले नेसन्स लिगको सेमिफाइनलमा दुई गोलसहित कुल ४ गोल गरेका छन् भने एम्बाप्पेले ३ गोल फर्काएका छन्।

यो वर्चस्व राष्ट्रिय टोलीमा मात्र सीमित छैन; एम्बाप्पे रियाल म्याड्रिडमा आबद्ध भएपछि क्लब फुटबलको ‘एल् क्लासिको’ भिडन्तमा समेत लामिन यामालको बार्सिलोनाले एम्बाप्पेको रियाल म्याड्रिडलाई स्तब्ध पारिसकेको छ। यसरी देश र क्लब दुवैतर्फ एम्बाप्पेले यामालविरुद्ध लगातार हारको सामना गर्नुपरेको छ।

यस पटक एम्बाप्पे र फ्रान्सको उत्कृष्ट पुनरागमनको सम्भावना

विगतका रेकर्डमा यामाल हाबी देखिए पनि जारी फिफा विश्वकप २०२६ मा फ्रान्स र एम्बाप्पे निकै आक्रामक र उत्कृष्ट लयमा देखिएका छन्। फ्रान्सले यस विश्वकपमा ६ खेलमा १६ गोल गर्दै आफ्नो सर्वोत्कृष्ट  प्रदर्शन गरिरहेको छ। टोलीका कप्तान किलियन एम्बाप्पे ६ खेलमा ८ गोल र ३ असिस्टसहित यस विश्वकपको गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। माइकल ओलिसे र उसमान डेम्बेलेको उत्कृष्ट साथ पाएका एम्बाप्पेले यस पटक स्पेनको कडा रक्षापंक्तिलाई तोड्दै फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याउने बलियो सम्भावना देखाएका छन्।

अर्कोतर्फ, लामिन यामालले नकआउट चरणमा गोल गर्न नसके पनि हरेक खेलसँगै आफ्नो लय सुधार गरिरहेका छन् र स्पेनले यस प्रतियोगितामा मात्र १ गोल खाएर उत्कृष्ट रक्षात्मक खेल देखाएको छ। फुटबल विश्लेषकहरूका अनुसार एम्बाप्पेका लागि यामाल र स्पेनविरुद्धको आफ्नो पुरानो खराब रेकर्ड तोड्न र फिफा विश्वकपको फाइनलमा पुग्न यो नै सबैभन्दा उपयुक्त र ऐतिहासिक अवसर हुनेछ।

Leave Your Comment

Related News