CLI
Global College

नयाँ राहदानी प्रणाली सञ्चालनमा, अत्यावश्यक परे मात्र आवेदन दिन आग्रह

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

विभागले सोमबार जारी गरेको सूचनाअनुसार २०८३ असार २९ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा आएको हो। विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ।

विभागले यति ठूलो सूचना प्रविधि प्रणाली (आईटी सिस्टम) सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिन सक्ने जनाएको छ। यस्ता समस्याको समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा स्ट्यान्डबाइ अवस्थामा रहेर प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले उल्लेख गरेको छ।

विभागले देखिएका प्राविधिक समस्याको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विश्वास समेत दिलाएको छ।

नयाँ प्रणालीको प्रारम्भिक चरणलाई सहज बनाउन विभागले अत्यावश्यक परेका सेवाग्राहीहरूले मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ। यसबाट प्रणालीलाई थप स्थिर, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको भनाइ छ।

त्यस्तै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन विभागले सबै सेवाग्राहीसँग अनुरोध गरेको छ।

राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सेवाग्राहीको विश्वास, धैर्यता र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

Leave Your Comment

Related News