काठमाडौं । अमेरिकाले आइतबार साँझ इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ। पछिल्ला केही दिनदेखि दुवै देशबीच निरन्तर आक्रमण–प्रतिआक्रमण चलिरहेका बेला भएको यस आक्रमणमा दक्षिणपश्चिम इरानमा एक जनाको मृत्यु भएको र चार जना घाइते भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी आक्रमण भएको केही घण्टामै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
यी बढ्दो सैन्य गतिविधिले गत जुन महिनामा अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौताको भविष्यसमेत अन्योलमा परेको छ। साथै, विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य खुला छ कि बन्द भन्ने विषयमा पनि दुवै पक्षबीच परस्परविरोधी दाबी आएका छन्।
इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ भने अमेरिकाले उक्त जलमार्ग अझै पनि जहाजहरूको आवागमनका लागि खुला रहेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले आइतबार साँझ नेपाली समयअनुसार मध्यराततिर सुरु भएको नयाँ आक्रमणबारे जानकारी दिँदै स्थानीय समयअनुसार साँझबाट सैन्य कारबाही सुरु भएको जनाएको छ।
सेन्टकमका अनुसार इरानका दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरिएको छ। ती लक्ष्यहरूमा हवाई प्रतिरक्षा प्रणाली, तटीय रडार केन्द्र, मिसाइल तथा ड्रोन क्षमता समावेश थिए।
सेन्टकमले विज्ञप्तिमा भनेको छ, ूइरानको निरन्तर आक्रामक गतिविधि, धम्की र एकतर्फी घोषणाका बाबजुद पनि व्यावसायिक जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार छ।ू
सेन्टकमको औपचारिक घोषणा आउनुभन्दा केही मिनेटअघि इरानी सरकारी टेलिभिजनले सिरिक, केश्म, बन्दर अब्बास र जास्क क्षेत्रमा शक्तिशाली विस्फोट भएको जनाएको थियो।
इरानी समाचार संस्था आईआरएनएका अनुसार खुजेस्तान प्रान्तका सुरक्षा तथा कानुन कार्यान्वयनसम्बन्धी उप-गभर्नर वलिउल्लाह हयातीले अमेरिकी आक्रमणपछि एक जनाको मृत्यु भएको र चार जना घाइते भएको पुष्टि गरेका छन्।
यस घटनापछि सोमबार बिहान एसियाली बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतले बढेर प्रतिव्यारेल ७९.०७ अमेरिकी डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य ४.२ प्रतिशतले बढेर प्रतिव्यारेल ७४.५३ डलर पुगेको छ।
पछिल्ला केही महिनादेखि अमेरिका–इरान तनावका कारण विश्व ऊर्जा बजारमा तेलको मूल्य तीव्र उतारचढावमा रहेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरेको थियो।
यद्यपि पछिल्लो मूल्यवृद्धिपछि पनि ब्रेन्ट क्रुडको मूल्य अप्रिल अन्त्यमा पुगेको प्रतिव्यारेल १२० डलरभन्दा अझै निकै तल रहेको छ।
आइतबार साँझ भएको नयाँ अमेरिकी आक्रमणअघि शनिबार साँझ सेन्टकमले इरानका १४० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो।
त्यसको जवाफमा आईआरजीसीले मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य अड्डा र अमेरिकाका सहयोगी मुलुकहरूलाई लक्षित गर्दै व्यापक आक्रमण गरेको दाबी गरेको छ, जसले द्वन्द्वलाई अझ तीव्र बनाएको छ।
इरानले निशाना बनाएको स्थानमध्ये कतार पनि रहेको दाबी गरिएको छ। कतार युद्धविराम वार्ताको मध्यस्थकर्ता भए पनि अप्रिलयता त्यहाँ आक्रमण भएको थिएन। त्यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई) पनि इरानको दाबीअनुसार निशानामा परेको छ, जहाँ मे महिनायता कुनै आक्रमण भएको थिएन।
जोर्डनमा भएको भनिएको आक्रमणबारे भने अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) सँग प्रतिक्रिया मागिएको भए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


