काठमाडौं । सुनको मूल्य आकासिइरहँदा नेपाली बजारमा सुन किन्ने उपभोक्तामा कमी आइरहेको छ। जेठ महिनामा सुनको आयात शून्य रह्यो अर्थात् यस महिनामा सुनको आयात भएको थिएन। मासिक सयौँ किलोग्राम आयात भइरहने सुन जेठ महिनामा ठप्प भएको छ।
नेपालमा सुनको आयात वाणिज्य बैंकहरुमार्फत् हुने गर्दछ। व्यवसायीहरुले माग गरेअनुसार बैंकहरुले सुनको आयात गर्ने गर्दछन्। चालु आर्थिक वर्षको जेठ महिनासम्म १३ लाख ५४ हजार ग्राम अर्थात् १३ सय ५४ किलोग्राम सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। तर यो वैशाख महिनासम्म भएको आयात हो, जेठ महिनामा सुनको आयात शून्य रहेको छ।
पछिल्लो समय बजारमा सुनको मूल्य बढ्दा, भन्सार बढ्दा र माग नभएका कारण यस महिना आयात नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन्। ‘मलमास महिनामा कुनै पनि शुभकार्य नहुने भएकाले नयाँ सुनको आवश्यकता नपर्ने हुँदा जेठ महिनामा सुनको आयात नगर्नु भनेर बैंकहरुलाई आग्रह गरेको,उनले इक्विटी नेपाललाई बताए।
साथै जेठमा आयात ठप्प भए पनि असारमा करिब ५० किलोग्राम सुनको आयात भएको उनी बताउँछन् र तीजमा फेरि माग बढ्ने र निरन्तर आयात हुन सक्ने उनको भनाइ छ।
कुन महिना कति सुन आयात भयो?
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै वाणिज्य बैंकहरुले १०० किलोग्राम सुन आयात गरेका थिए। पहिलो महिनामा १ अर्ब ५२ करोड ६३ लाख ७१ हजार रुपैयाँको सुन आयात गरिएको थियो।
भदौ महिनामा १ अर्ब ६० करोड ३६ लाख २० हजार रुपैयाँमा १०१ किलो सुन आयात गरिएको थियो।
असोज महिनामा एकै पटक बैंकहरुमार्फत् ४०० किलो सुन आयात गरिएको तथ्यांक देखिन्छ। असोजमा विदेशबाट कूल ७ अर्ब १२ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको सुन आयात गरिएको थियो।
त्यस्तै, कात्तिकमा ३०१ किलो सुन आयात गरिएको थियो, जसको मूल्य ५ अर्ब ४६ करोड ७८ लाख ५९ हजार रुपैयाँ थियो। मंसिर महिनामा १ किलो मात्रै सुन आयात भएको छ। पुसमा ३ अर्ब ११ करोड २५ लाख ४८ हजार रुपैयाँको १५० किलो सुन आयात भएको छ। माघमा १०१ किलो, फागुनमा १०० किलो, चैतमा १४५ किलो र वैशाखमा १०० किलो आयात भएको छ।



