CLI

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेस गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा वार्षिक प्रतिवेदन पेस, आर्थिक विधेयक दर्ता, विभिन्न विधेयकलाई समितिमा पठाउने तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का दुई महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ तथा लोक सेवा आयोगको छैयसट्ठीसौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण–२०८२ असार) सदनमा पेस गर्नेछिन्।

 

बैठकमा प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र त्यसपछि उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अन्तर्गतका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। कार्यसूचीअनुसार बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गराई दुवैलाई अनुमोदन गर्ने प्रस्ताव सदनमा पेश हुनेछ।

आजको बैठकमा न्याय प्रशासन, आर्थिक कानुन संशोधन, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News