CLI

प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्छ : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै करिब एक महिनादेखि संसद्मा आवाज उठाइरहेको भए पनि सरकारले कुनै प्रतिक्रिया नदिएको बताए। प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै उनले सरकारको मौनताप्रति असन्तुष्टि जनाए।

राईले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जाल फेसबुकमा गरेको ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्तिसमेत स्मरण गराउँदै त्यसप्रति आफूलाई अहिले पनि चिन्ता लाग्ने गरेको बताए। उनले उक्त अभिव्यक्तिपछि सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनमा आगलागीका घटना भएको उल्लेख गर्दै अहिलेको सीमा सम्बन्धी अभिव्यक्तिले पनि भविष्यमा नकारात्मक सन्देश जान सक्ने आशंका व्यक्त गरे।

उनले प्रधानमन्त्रीको भनाइ नियतवश नभई भूलवश आएको भए प्रतिनिधि सभामै उपस्थित भएर त्यसलाई सच्याउनुपर्ने र औपचारिक रूपमा अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरे।

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय उठाएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरे।

Leave Your Comment

Related News