काठमाडौं । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गर्दा एकैपटक ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने प्रचार गलत र भ्रामक भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सामान्य अवस्थामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ५०० रुपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे। एउटै कसुर पटक–पटक दोहोर्याएमा भने जरिवाना क्रमशः बढ्दै अधिकतम ५० हजार रुपैयाँसम्म पुग्न सक्ने व्यवस्था रहेको उनले बताए।
‘सामान्य अवस्थामा ५०० रुपैयाँ जरिवाना लाग्छ। तर, एउटै गल्ती बारम्बार दोहोर्याइरहेमा मात्र जरिवाना बढ्दै अधिकतम ५० हजार रुपैयाँसम्म पुग्ने व्यवस्था छ। यसलाई एकैपटक ५० हजार रुपैयाँ जरिवाना तोकिएको भनेर प्रचार गरिएको हो,’ मन्त्री लम्सालले भने।
मन्त्री लम्सालले १० हजार रुपैयाँ ट्राफिक जरिवाना तिर्न नसकेर गणेश नेपालीले आत्मदाह गरेको भन्ने प्रचार पनि तथ्यहीन रहेको दाबी गरे। गणेश नेपालीलाई त्यस्तो कुनै जरिवाना नलगाइएको उल्लेख गर्दै उनले आर्थिक अवस्था, समयमै न्याय नपाउने अवस्था र सामाजिक विकृतिका कारण यस्ता दुःखद घटना हुने भए पनि त्यसलाई ट्राफिक जरिवानासँग जोडेर गलत सूचना फैलाइएको बताए।
सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पछिल्लो पाँच वर्षमा देशभर १ लाख २५ हजार ५६४ वटा सडक दुर्घटना भएको जानकारी दिए। ती दुर्घटनामा १२ हजार ४५२ जनाले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै उनले सडक पूर्वाधारलाई सुरक्षित बनाउन विभिन्न सडकको स्तरोन्नति (अपग्रेड) गर्ने काम अघि बढाइएको बताए।
पूर्वाधार क्षेत्र सुधारका विषयमा बोल्दै मन्त्री लम्सालले वि.सं. २०७४ देखि माग हुँदै आएको सार्वजनिक खरिद ऐन संशोधन वर्तमान सरकारले पहिलो १०० दिनभित्रै पूरा गरेको दाबी गरे। विगतमा न्यूनतम कबोल (लो बिडिङ) प्रणालीका कारण १३ देखि १४ हजारसम्म अव्यावहारिक ठेक्का थपिएको र औसतमा ३१ प्रतिशतसम्म बिलोमा ठेक्का लाग्ने प्रवृत्तिले विकास निर्माणको गुणस्तर र समयसीमामा गम्भीर समस्या उत्पन्न गरेको उनको भनाइ थियो।


