CLI

सेयर धितो कर्जा ३१ प्रतिशतले बढ्यो, कुन बैंकले कति दिए ?

काठमाडौं । सेयर बजारमा सुधार नदेखिए पनि वाणिज्य बैंकहरुबाट  सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा १ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ३१.६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब ६ अर्ब १८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नबिल बैंकले सेयर कर्जा प्रवाह गरेको छ। बैंकले १७ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो रकम गत आवको तुलनामा १६.२९ प्रतिशतले बढी हो।

त्यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह २५.३१ प्रतिशतले बढेको छ। जेठसम्म यस बैंकले १४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अन्य बैंकहरुमध्ये कुमारी बैंकले १० अर्ब ४४ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले ९ अर्ब ८५ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ९ अर्ब ५० करोड ७२ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ९ अर्ब १६ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।

यता, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकको सेयर कर्जामा उच्च वृद्धि देखिएको छ। चालू आवमा माछापुच्छ्रे बैंकको सेयर कर्जा १०९.९२ प्रतिशतले बढेर ४ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। कृषि विकास बैंकको यस्तो कर्जा १४२.०२ प्रतिशतले बढेर जेठसम्म ८ अर्ब ६४ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो।

यस अवधिमा ३ वाणिज्य बैंकको सेयर धितो कर्जा भने घटेको छ। कर्जा घट्नेमा नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबिआई बैंक रहेका छन्। नेपाल बैंकको कर्जा प्रवाह ७ अर्ब ७२ करोड ७० लाख रुपैयाँबाट घटेर ६ अर्ब ६६ करोड १९ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, सिटिजन्स बैंकले चालू आवमा ५ अर्ब ८१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जबकि गत आवमा बैंकले ६ अर्ब ८५ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो।

Leave Your Comment

Related News