काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको जग्गा लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ।
कार्यालयले उक्त जग्गा बिक्रीका लागि ३५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ। प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्ति, संस्था वा कम्पनीहरूले तोकिएको समयभित्र आवश्यक कागजातसहित गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
समितिका अनुसार लिलाम बिक्रीबाट प्राप्त हुने रकम सहकारीका बचतकर्ताको दायित्व व्यवस्थापन तथा कानुनी प्रक्रियाअनुसार वितरण गरिनेछ। बोलपत्रसम्बन्धी विस्तृत विवरण, जग्गाको अवस्था, न्यूनतम मूल्य र आवश्यक सर्तहरू कार्यालयले प्रकाशित सूचनामा उल्लेख गरेको छ।
नेपाल सरकारले उक्त सहकारीलाई २०८० साल फागुन २९ गते समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समिति समक्ष पठाएको थियो। संस्था, संस्थाका ऋणी सदस्य तथा सञ्चालकहरूबाट बुझाउनुपर्ने साँवा, ब्याज, हर्जाना र जरिवाना तिर्न सहकारी नियमावली, २०७५ बमोजिम सूचना प्रकाशित गर्दा समेत दायित्व फरफारक नगरेकाले यो लिलामी प्रक्रिया अगाडि बढाइएको हो।
लिलामी हुन लागेको जग्गा ललितपुर जिल्लाको साविक हरिसिद्धि गाविस वडा नम्बर ५ख मा अवस्थित छ। कित्ता नम्बर ३९९ रहेको उक्त जग्गाको क्षेत्रफल चौध आना तीन पैसा रहेको छ। यस जग्गाको न्यूनतम मूल्य प्रति आना ४ लाख रुपैयाँ कायम गरिएको छ भने जम्मा न्यूनतम मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ। सहकारी नियमावली, २०७५ को नियम ३० को उपनियम १ को खण्ड (च) बमोजिम चलनरहेको मूल्य कायम गरी यो न्यूनतम मूल्य निर्धारण गरिएको हो।
जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। यो आह्वान सहकारी ऐन, २०७४ को दफा १०६ को उपनियम (ज) को अधीनमा रही गरिएको हो। तोकिएको न्यूनतम मूल्यभन्दा घट्ने गरी बोलपत्र पेस गर्न पाइने छैन। लिलामी सम्बन्धी सर्तहरू तथा अन्य विस्तृत जानकारीका लागि इच्छुक पक्षले व्यवस्थापन समितिको कार्यालयको आधिकारिक वेबसाइट www.coopmc.gov.np बाट हेर्न सक्नेछन्।


