काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ। यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि दिउँसो १ बजे बस्ने गरी समय सारिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै सभामुखको निर्देशनअनुसार बैठक आजै दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका छन्।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि सदनमा पेस गरिनेछ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसपछि विभिन्न अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल तथा अनुमोदनको कार्यक्रम रहेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त महासन्धिलाई आजै अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ।
यस्तै, आईएलओको श्रम निरीक्षणसम्बन्धी महासन्धि माथि पनि प्रतिनिधिसभामा छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।


