काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी गरेको छ। सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिएका हुन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्ने भन्ने धारणा रहेको उल्लेख गर्दै विश्वका कुनै पनि पुँजीबजार निरन्तर उकालो मात्र नलाग्ने बताए।
उनले बजार बढे पनि लगानीकर्ताको अपेक्षा कहिल्यै पूरा नहुने भन्दै बजारको स्वाभाविक उतारचढावलाई स्वीकार गर्नुपर्ने धारणा राखे। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब पर्ने गरेको उल्लेख गर्दै बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्नु मात्र भएको स्पष्ट पारे।
अध्यक्ष भट्टका अनुसार सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्नेछन्। यसले बजार बढ्नैपर्ने भन्ने एकतर्फी सोचको अन्त्य गर्दै लगानीकर्तालाई बजारको दुवै अवस्थाबाट अवसर लिन सक्ने वातावरण सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे।
उनले उदाहरण दिँदै लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्ने र पछि मूल्य घटेपछि सोही सेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सक्ने बताए। यस्तै, बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले हालकै व्यवस्थाअनुसार सेयर खरिद गरी मूल्य बढेपछि बिक्री गरेर प्रतिफल लिन सक्ने उनले उल्लेख गरे।
अध्यक्ष भट्टले सर्ट सेलिङ लागू भएपछि बजार घट्दा हुने अनावश्यक तनाव र आन्दोलनको अवस्था समेत अन्त्य हुने दाबी गरे। उनका अनुसार यसले लगानीकर्तालाई आफ्नै अध्ययन, विश्लेषण र जोखिम मूल्यांकनका आधारमा निर्णय गर्ने वातावरण तयार पार्नेछ।
उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानीको अन्तिम निर्णय भने लगानीकर्ताकै जिम्मेवारी हुने बताए।
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउने तयारी भइरहेको जानकारी दिँदै सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणका विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गरिने बताए।
उनले बोर्डले हालै ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजीबजार नीति पनि सार्वजनिक गरिएको जानकारी दिए।


