CLI

इरानका पुल र विद्युत् केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताको टेबलमा नफर्किए अर्को साता देशका पुल तथा विद्युत् उत्पादन केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्।

ट्रम्पले भने, “अर्को साता उनीहरूका लागि अवस्था निकै खराब हुनेछ। यदि उनीहरू वार्तामा आएनन् भने हामी उनीहरूका सबै विद्युत् केन्द्र ध्वस्त पार्नेछौँ, सबै पुलहरू नष्ट गर्नेछौँ।”

यसअघि ट्रम्पले हर्मुज जलडमरूमध्य हुँदै हुने सबै मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए। पछि उनले उक्त योजना फिर्ता लिए पनि इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी भने पुनः सुरु गरिएको छ।

गत अप्रिलमै ट्रम्पले इरानका पुल, विद्युत् केन्द्रलगायत नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए। त्यसबेला संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले “अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक र नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाउनु युद्ध अपराध हो” भन्दै चेतावनी दिएका थिए। सन् १९४९ को जेनेभा महासन्धिले पनि नागरिकका लागि अत्यावश्यक संरचनामाथि आक्रमण गर्न निषेध गरेको छ।

ट्रम्पले ऊर्जा पूर्वाधारलाई अन्तिम लक्ष्य बनाइने उल्लेख गर्दै अमेरिकी वार्ताकारहरूले मंगलबार इरानी प्रतिनिधिलाई “सम्झौता गर, नत्र केही पनि बाँकी रहने छैन” भन्ने सन्देश दिएको दाबी गरे।

सैन्य तनाव थप चर्कियो

ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिका र इरानबीचको सैन्य तनाव थप बढिरहेका बेला आएको हो। यसअघि उनले हर्मुज जलडमरूमध्यमा प्रस्तावित २० प्रतिशत शुल्क हटाएर त्यसको सट्टा खाडी राष्ट्रहरूसँग “विशाल व्यापार तथा लगानी सम्झौता” गरिने घोषणा गरेका थिए।

तर त्यसको केही घण्टामै अमेरिकी सेनाले करिब सात घण्टा लामो हवाई आक्रमण गर्दै इरानका विभिन्न सैन्य लक्ष्यमा प्रहार गरेको र इरानी बन्दरगाहको नाकाबन्दी पुनः सुरु गरेको जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार हर्मुज जलडमरूमध्य नजिक रहेका इरानी सैन्य संरचनामा दर्जनौँ आक्रमण गरिएको हो। यसको उद्देश्य इरानको व्यावसायिक जलयातायात र नागरिक जहाजलाई खतरा पुर्‍याउने क्षमता कमजोर बनाउनु रहेको सेन्टकमले जनाएको छ।

इरानको सेनाका अनुसार दक्षिणपूर्वी शहर बामपुरस्थित एक सैन्य अड्डामा भएको अमेरिकी आक्रमणमा कम्तीमा सात सैनिकको मृत्यु भएको छ।

इरानको जवाफी आक्रमण

इरानी सरकारी टेलिभिजन आईआरआईबीका अनुसार इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी लक्ष्यहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ।

कुवेतको सेनाले आफ्नो वायु प्रतिरक्षा प्रणालीले इरानी ड्रोनहरू खसालिरहेको जनाएको छ भने बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको थियो। बहराइनको गृह मन्त्रालयले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

अमेरिकाले पनि इरानले सातवटा व्यावसायिक जहाजलाई लक्षित गरी आक्रमण गरेको, जसमा करिब एक दर्जन चालकदलका सदस्य मारिएका, घाइते भएका वा बेपत्ता भएको दाबी गरेको छ।

यता संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानी क्रुज मिसाइल आक्रमणबाट आफ्ना दुईवटा तेल ट्याङ्कर निशाना बनेको, जसमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको र अन्य आठ जना घाइते भएको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले भने ती ट्याङ्करहरूले चेतावनी बेवास्ता गरेको, नेभिगेसन प्रणाली बन्द गरेको र बारुद बिछ्याइएको मार्ग प्रयोग गर्न खोजेकाले कारबाही गरिएको दाबी गरेको छ।

तेल बजारमा असर

अमेरिका–इरानबीच पुनः सुरु भएको सैन्य आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। हर्मुज जलडमरूमध्य हुँदै हुने ट्याङ्कर आवागमन लगभग ठप्प भएको बताइएको छ।

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ। इरानले यसको व्यवस्थापनमा अमेरिका हस्तक्षेप गरिरहेको आरोप लगाउँदै आएको छ भने उक्त जलमार्गमाथिको नियन्त्रणले विश्व अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

यसअघि ट्रम्पले अमेरिका अब हर्मुज जलडमरूमध्यको “संरक्षक” बनेको घोषणा गर्दै त्यसको सुरक्षाको खर्च उठाउन सबै मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने बताएका थिए। तर पछिल्लो निर्णयअनुसार उनले उक्त योजना स्थगित गर्दै त्यसको सट्टा खाडी राष्ट्रहरूसँग हुने ठूलो लगानी र व्यापार सम्झौताले अमेरिकी हित सुरक्षित गर्ने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा खाडी राष्ट्रहरूले अमेरिकामा गर्ने लगानी “विशाल” हुने दाबी गरेका छन्। यद्यपि उनले त्यसबारे थप विवरण सार्वजनिक गरेका छैनन्।

यता इरानले भने हर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम रहने स्पष्ट गरेको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

Leave Your Comment

Related News