CLI

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी र स्वीपरलगायत श्रेणीविहीन तथा तल्लो तहका कर्मचारीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

बुधबार पार्टीका प्रवक्ता तिलक थापा मगरद्वारा जारी विज्ञप्तिमा दशकौँदेखि राज्यको सेवामा इमान्दारीपूर्वक कार्यरत कर्मचारीलाई स्पष्ट आधार र वैकल्पिक व्यवस्थाविना सेवाबाट हटाउने निर्णय अन्यायपूर्ण, अमानवीय र कानुनी शासनको मर्मविपरीत भएको उल्लेख गरिएको छ।

आजपाले राज्यले तल्लो तहका कर्मचारीबाट सेवा लिने तर उनीहरूको रोजगारी र सेवा–सुविधाको संरक्षणमा बेवास्ता गर्ने प्रवृत्ति विभेदपूर्ण भएको आरोप लगाएको छ। गरिब तथा श्रमजीवी वर्गको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका यी पदहरू हटाउने निर्णयले हजारौँ परिवार प्रभावित हुने पार्टीको भनाइ छ।

विज्ञप्तिमा गणतन्त्र स्थापना भएपछि स्थायी दरबन्दीलाई करार व्यवस्थामा रूपान्तरण गरेर कर्मचारीमाथि अन्यायको सुरुआत गरिएको र अहिले ती कर्मचारीलाई हटाई निजी कम्पनीमार्फत ‘आउटसोर्सिङ’ प्रणालीबाट सेवा सञ्चालन गर्ने सरकारी तयारी गोपनीयता, उत्तरदायित्व र सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण हुने उल्लेख गरिएको छ।

‘लामो समयदेखि कुशलतापूर्वक सेवा दिँदै आएका श्रेणीविहीन तथा तल्लो तहका कर्मचारीलाई हटाउने निर्णय तत्काल रोकियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूलाई स्थायी दरबन्दीमा समायोजन गरी अन्य राष्ट्रसेवक कर्मचारीसरह सेवा–सुविधा उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं।’

आजपाले राज्यको आधारभूत सेवा प्रवाहमा योगदान पुर्‍याइरहेका कर्मचारीको रोजीरोटीमाथि प्रहार नगर्न, उनीहरूको रोजगारीको सुनिश्चितता गर्न तथा श्रमको सम्मान हुने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ।

Leave Your Comment

Related News