काठमाडौं । आज बिहीबार (असार ३२ गते) आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेप्से सूचक ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा बन्द भएको छ। यस दिन कुल ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेप्से ७.०५ प्रतिशतले घटेको छ। गत आवको अन्तिम कारोबार दिन नेप्से सूचक २,७९४.७८ थियो भने हाल यो सूचक २,५९७.८० अंकमा खुम्चिएको छ। नेप्से परिसूचक मात्र नभई बजार पुँजीकरण पनि घटेको छ। बजार पुँजीकरण गत वर्षको तुलनामा १९ अर्ब ३४ करोड ३९ लाख रुपैयाँले घटेको छ। गत आवको अन्तिम कारोबार दिन बजार पुँजीकरण ४ खर्ब ६५ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ रहेकोमा यस वर्ष ४ खर्ब ४६ अर्ब ३५ करोड ५० लाख रुपैयाँमा खुम्चिएको छ।
विभिन्न समूहगत सूचकहरूको विश्लेषण गर्दा उत्पादन तथा प्रशोधन समूहले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ३७.९३ प्रतिशतको वृद्धि हासिल गरेको छ। त्यसैगरी होटल तथा पर्यटन समूह १.८० प्रतिशत र म्युचुअल फन्ड ७.६० प्रतिशतले बढेका छन् भने बाँकी रहेका अन्य समूहहरू घटेका छन्। ट्रेडिङ समूह २०.४१ प्रतिशतले घट्दा अन्य समूह १९.३२ प्रतिशत, लगानी १६.१२ प्रतिशत, निर्जीवन बिमा १५.०९ प्रतिशत, लघुवित्त ११.४८ प्रतिशत, जीवन बिमा १०.०८ प्रतिशत, वित्त ८ प्रतिशत, बैंकिङ समूह ५.९६ प्रतिशत र हाइड्रोपावर समूह ३.०० प्रतिशतले गिरावट आएका छन्।
समग्रमा बजार साइडवेज अवस्थामा रह्यो, जहाँ नेप्से सूचक करिब २,४७० देखि ३,००० विन्दुको दायरामा घुमिरह्यो। ठूलो उतारचढाव नभए पनि केही विशेष घटनाहरूले बजारमा प्रभाव पारे। उदाहरणका लागि, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बजारमा नकारात्मक सर्किट लागेको थियो। त्यस्तै, फागुन २५ गते राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने सम्भावना बढेपछि सकारात्मक सर्किट लागेको थियो। यस्ता राजनीतिक तथा सामाजिक घटनाहरूले नेपाली सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेका थिए।
यस वर्ष २४ वटा कम्पनीहरूले आईपीओ जारी गरे, जसले नयाँ लगानीकर्ताहरूलाई बजारमा आकर्षित गर्यो। साथै, ७ कम्पनीहरूले हकप्रद सेयर जारी गर्न पाए भने १ कम्पनीले एफपीओ बिक्रीको अनुमति प्राप्त गर्यो। यस आर्थिक वर्षमा कुल १६ खर्ब १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने ३ अर्ब ८२ करोड कित्ता सेयर किनबेच भएको छ।


