काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको वित्तीय घाटा घटेको जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको वित्तीय स्थिति १ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको १खर्ब ४२ अर्ब रुपैयाँ घाटाको तुलनामा कम हो।
राष्ट्र बैंकले बिहीबार वित्तीय प्रतिवेदन २०२४२५ सार्वजनिक गर्दै सो कुरा जनाएको हो । समीक्षा अवधिमा सरकारको राजस्व (बैंकिङ कारोबारका आधारमा) ११.० प्रतिशतले वृद्धि भई १ खर्ब १७ अर्ब ८८ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा राजस्व १०.६ प्रतिशतले बढेको थियो। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल खर्च ९.३ प्रतिशतले वृद्धि भई १ खर्ब ५२ अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा भने कुल सरकारी खर्च २.० प्रतिशतले घटेको थियो।
राजस्वको वृद्धि खर्चको वृद्धिभन्दा उच्च रहेकाले आर्थिक वर्ष २०८१/८२ मा बजेट घाटा अघिल्लो वर्षको तुलनामा घट्न पुगेको हो।
आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल सार्वजनिक ऋण (Government Debt) कुल गार्हस्थ्य उत्पादन (GDP) को अनुपात अघिल्लो वर्षको तुलनामा १.० प्रतिशत बिन्दुले वृद्धि भएको छ। यस अवधिमा आन्तरिक ऋण ७.३ प्रतिशतले बढेर १ खर्ब २६ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ भने वैदेशिक ऋण ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४० अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (GDP) को ४३.७ प्रतिशत बराबर पुगेको छ। वित्तीय घाटा कायम रहनु तथा ऋण सेवा (Debt Servicing) मा लाग्ने खर्च बढ्दै जाँदा कुल सरकारी ऋण अघिल्लो आर्थिक वर्षको तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको छ।


