काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितलाई पुनः धोका दिएको आरोप लगाएका छन्। उनले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको र गरिबी निवारणको सट्टा गरिब जनतालाई थप समस्यामा पार्ने काम गरेको टिप्पणी गरे।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आर्थिक नीति र कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ। अर्थतन्त्र उकास्ने काम भएको छैन। गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ,’ ओलीले भने।
उनले आर्थिक सुधारका लागि प्रभावकारी नीति र कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै सरकार जनताका वास्तविक समस्याप्रति संवेदनशील हुन नसकेको आरोप लगाए।
कार्यक्रममा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपाल पछाडि परेको पनि बताए। बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न प्रविधिको अधिकतम प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले डिजिटल क्षमता विकासमा जोड दिए।
‘हामी आईटी क्षेत्रमा पछि परेका छौँ। प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलता हासिल गर्न सकिन्छ,’ उनले भने।
ज्ञान प्राप्त गर्ने दुई माध्यम रहेको उल्लेख गर्दै ओलीले एउटा गुरुबाट सिकाइ र अर्को आफ्नै निरन्तर मेहनत भएको बताए। ‘बिना अभ्यास कुनै पनि सीप वा ज्ञान हासिल गर्न सकिँदैन,’ उनले भने।
अध्यक्ष ओलीले बदलिँदो प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै अध्ययन, अभ्यास र नवप्रवर्तनलाई प्राथमिकता दिन पार्टीका सांसदहरूलाई पनि आग्रह गरे।



