काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ। बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेकाले नाफा बढेको हो।
बैंकले २०८२/८३ मा ८८ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आवको तुलनामा ४६.६९ प्रतिशत अर्थात् २८ करोड ३२ लाख ६६ हजार १७८ रुपैयाँले बढी हो। अघिल्लो आवमा बैंकले ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो।
यता, खुद ब्याज आम्दानी भने अघिल्लो वर्ष २ अर्ब ७ करोड रहेकोमा गत आर्थिक वर्ष १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
बैंकको लगानीकर्ताहरुलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो। बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँका आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ।
बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेकोमा गत वर्ष बढेर ६.८७ प्रतिशत पुगेको छ। बैंकको सीडी रेसियो ८३.३७ प्रतिशत रहेको छ, जसले बैंकसँग थप कर्जा प्रवाह गर्न पर्याप्त तरलता रहेको देखाउँछ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २३.८३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंककाे प्रतिसेयर आम्दानी १७.०६ पैसा थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ।


