काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग जोडिएको कथित घुस तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती तथा नेपाली सेनाकी प्राविधिक सहसेनानी सुफल केसीको भूमिकाबारे थप अनुसन्धान गर्न नेपाली सेना, जंगी अड्डालाई पत्र लेखेको छ ।
आयोगका अनुसार प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विभिन्न सार्वजनिक पदमा रहँदा ठेक्का स्वीकृति, अनुगमन र भुक्तानीलगायतका जिम्मेवारी सम्हालेका थिए। सो अवधिमा प्राधिकरणअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्कामा पदको दुरुपयोग गरी ठेक्का दिलाइदिने तथा सहजीकरण गरिदिएको आरोप छ।
अनुसन्धानबाट उमा एन्ड कम्पनी प्रालि (जेभीसहित) लाई करिब ३ अर्ब ८ करोड ५७ लाख रुपैयाँभन्दा बढी र गायत्री निर्माण सेवालाई करिब १ करोड ११ लाख रुपैयाँ बराबरका ठेक्का उपलब्ध गराउन भूमिका खेलेको आरोप लगाइएको छ। त्यसबापत व्यवसायी प्रेमप्रकाश ढकाललगायतबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिन सहमति भएको आयोगको दाबी छ।
आयोगका अनुसार उक्त रकमको प्रयोग गरी ललितपुर महानगरपालिका–५ स्थित कित्ता नम्बर २२४ को जग्गा सुफल केसीको नाममा खरिद गरिएको देखिएको छ। उक्त जग्गाको बजार मूल्य कुमारी बैंकका आधिकारिक मूल्यांकनकर्ताले ३ करोड ३४ लाख १६ हजार रुपैयाँ निर्धारण गरेको उल्लेख गरिएको छ।
अनुसन्धानमा वास्तविक कारोबार रकम २ करोड ७५ लाख रुपैयाँ रहेको देखिए पनि राजीनामा लिखतमा भने ९१ लाख रुपैयाँ मात्र उल्लेख गरिएको आयोगको भनाइ छ। बाँकी १ करोड ७१ लाख रुपैयाँको स्रोत लुकाउने उद्देश्यले सरकारी लिखतमा कम मूल्य देखाइएको तथा बैंकिङ कारोबारमार्फत रकमलाई वैध देखाउने प्रयास गरिएको आरोप छ।
आयोगका अनुसार उक्त १ करोड ७१ लाख रुपैयाँमध्ये १ करोड ४९ लाख रुपैयाँ सूर्य ताम्राकारको कुमारी बैंक खातामा र २२ लाख रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गरिएको थियो। यसरी भ्रष्टाचारबाट प्राप्त रकमको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्यमार्फत सम्पत्ति शुद्धीकरणको कसुर भएको दाबी गरिएको छ।
अनुसन्धानबाट सुफल केसीको समेत संलग्नता देखिएको आयोगले जनाएको छ। तर उनी नेपाली सेनामा प्राविधिक सहसेनानी पदमा कार्यरत रहेकाले नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा सैनिक ऐन, २०६३ बमोजिम उनीमाथिको आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रक्षा मन्त्रालय र नेपाली सेना, जंगी अड्डा समक्ष अयोगले आग्रह गरेको हो ।
आयोगले प्रस्तुत विवरण अनुसन्धानबाट संकलित प्रमाण र विश्लेषणका आधारमा तयार गरिएको दाबी गरेको छ भने सुफल केसीमाथिको थप अनुसन्धान सम्बन्धित निकायबाट हुने जनाएको छ।


