काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ को निर्देशन नम्बर १५/०८२ मा संशोधन गर्दै डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ नियम लागू गरेको छ। भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ४५ बमोजिम जारी गरिएको यस निर्देशन अनुसार अब वालेट सेवा प्रदायकहरूले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको अनलाइन प्रणालीबाट विवरण जाँच गरेर मात्रै वालेट खाता खोल्नुपर्नेछ।
साथै, अनुमतिप्राप्त संस्थाहरूले २०८३ असोज मसान्तभित्र आफ्ना प्रयोगकर्ताहरूसँग राष्ट्रिय परिचयपत्र भए/नभएको स्वःघोषणा लिनुपर्नेछ भने परिचयपत्र लिइसकेका नागरिकको हकमा सोही अवधिभित्र राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ।
परिचयपत्र नलिएका प्रयोगकर्ताहरूलाई भने परिचयपत्र प्राप्त गरी आफ्नो विवरण अद्यावधिक गर्नका लागि मोबाइल एप वा अन्य माध्यमबाट प्रत्येक महिना सम्झौटो वा जानकारी पठाउनुपर्नेछ।
यस नयाँ व्यवस्थामा विदेशमा रहेका र विशेष अवस्थाका नागरिकहरूलाई भने केही छुट र सुविधा प्रदान गरिएको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर बिना नै अन्य आवश्यक कागजातका आधारमा अनलाइनमार्फत वालेट खाता खोल्न सक्नेछन् ।
तर उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण बुझाएर खाता अद्यावधिक गरिसक्नुपर्नेछ। त्यसैगरी, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकहरूको हकमा पनि राष्ट्रिय परिचयपत्र उपलब्ध नभएमा अन्य वैकल्पिक कागजातहरू पेस गरेरै वालेट खाता खोल्न र नियमित कारोबार गर्न सकिने सुविधा दिइएको नेपाल राष्ट्र बैंकले जनएको छ ।


