काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले होङ्शी शिवम् सिमेन्टको ६ अर्ब बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘A2+’ (ए-टु प्लस) रेटिङलाई यथावत् राखेको छ।
इक्रा नेपालका अनुसार कम्पनीको बलियो सञ्चालन क्षमता, नगण्य ऋण दायित्व र उच्च ब्याज भुक्तानी क्षमताका कारण यो रेटिङ दिइएको हो। कम्पनीको कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात ०.४१ गुणामा सीमित छ भने कुल ऋण र सञ्चालन नाफाको अनुपात ०.६८ गुणामा झरेको छ।
नेपालको सिमेन्ट उद्योग क्षेत्रमा अग्रस्थानमा रहेको होङ्शी शिवम् सिमेन्टले आफ्नो वित्तीय अवस्थालाई निरन्तर सुदृढ बनाउँदै लगेको छ। कम्पनीको पछिल्लो वित्तीय विवरणअनुसार नाफा मार्जिनमा उल्लेख्य वृद्धि हुनुका साथै ऋणको जोखिम घट्दै गएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा मात्रै कम्पनीले रु १० अर्ब ३१ करोड ८० लाख कुल सञ्चालन आम्दानी गरेको छ। यस अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन कुल आम्दानीको ३१ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा २९.१ प्रतिशत र आव २०८०/८१ मा १८.८ प्रतिशत मात्र थियो। केही वर्ष अघिसम्म ९.५ प्रतिशतमा सीमित रहेको नाफा मार्जिनमा आएको यो सुधारले कम्पनीको लागत व्यवस्थापन प्रभावकारी रहेको देखाउँछ।
वित्तीय जोखिम नियन्त्रणतर्फ पनि कम्पनीले ठूलो सफलता हासिल गरेको छ। कम्पनीको कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात घटेर ०.१५ गुणामा झरेको छ। त्यस्तै, ऋण भुक्तानी क्षमता सूचक १८.७० गुणा र ब्याज तिर्न सक्ने क्षमता २२.१५ गुणा पुगेको छ। यसले कम्पनीको नगद प्रवाह अत्यन्त सुदृढ रहेको र ऋण भुक्तानी दायित्व सजिलै पूरा गर्न सक्ने क्षमता रहेको पुष्टि गर्छ।
कम्पनीको अर्को प्रमुख बलियो पक्ष यसको प्रवर्द्धक संरचना र अनुभवी व्यवस्थापन हो। कम्पनीको ७० प्रतिशत स्वामित्व चीनको होङ्शी समूहसँग रहेको छ, जुन हङकङ रेड लायन सिमेन्ट नम्बर–३ लिमिटेडमार्फत कायम गरिएको हो। होङ्शी समूहले चीनमा करिब ५० वटा ठूला सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ। यसका साथै लाओस, इन्डोनेसिया र म्यानमारमा पनि समूहले आफ्नो व्यवसाय विस्तार गरिसकेको छ। सिमेन्ट उद्योगमा समूहको लामो अनुभव, सफल कार्यसम्पादन, आधुनिक प्रविधिको प्रयोग तथा अनुभवी व्यवस्थापन टोलीका कारण होङ्शी शिवम् सिमेन्टले समूहका अन्य उद्योगमा लागू गरिएका उत्कृष्ट प्रविधि, व्यवस्थापन प्रणाली तथा नीतिगत अभ्यासहरू अपनाउन सकेको छ। यसले कम्पनीको उत्पादन क्षमता, गुणस्तर तथा सञ्चालन दक्षता अझ सुदृढ बनाउन सहयोग पुर्याएको छ।
कम्पनीको बाँकी ३० प्रतिशत स्वामित्व नेपालको शिवम् होल्डिङ्स लिमिटेडसँग रहेको छ। शिवम् होल्डिङ्स लिमिटेड शिवम् सिमेन्ट लिमिटेडको करिब ८५ प्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो। उद्योग नवलपरासी जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको छ।
इक्रा नेपालले होङ्शी शिवम् सिमेन्टको ६ अर्ब रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको साख मूल्याङ्कन पुनः यथावत् राखेको छ। संस्थाले कम्पनीको अल्पकालीन कर्जा सीमालाई ‘ए–टु प्लस’ श्रेणीमा पुनः पुष्टि गरेको हो।
सेप्टेम्बर २०१५ मा स्थापित होङ्शी शिवम् सिमेन्ट प्राइभेट लिमिटेड (होङ्शी) ले वार्षिक करिब २० लाख मेट्रिक टन क्लिङ्कर र करिब २३ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको एक एकीकृत सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ। होङ्शीमा हङकङ रेड लायन सिमेन्ट नम्बर-३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ्स लिमिटेडको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ।
यसको कारखाना नवलपरासी जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा अवस्थित छ। कम्पनीले हाल ‘होङ्शी’ ब्रान्डअन्तर्गत साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ।”


