काठमाडौं । नेपाल प्रहरीका अनुसार पछिल्लो साढे पाँच वर्षको अवधिमा अर्थात सन् २०२१ देखि २०२६ को जुलाई २६ सम्म कुल २ हजार ५५७ जना विदेशीलाई डिपोर्ट गरेको छ ।
उक्त अवधिमा डिपोर्ट हुने विदेशीमध्ये २७.१८ प्रतिशत चिनियाँ नागरिक छन् । पछिल्ला वर्षमा डिपोर्ट हुने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ नागरिक छन् अध्यागमन विभागका अधिकारीहरुले बताएका छन् ।
विभागका प्रवक्ता ढकालका अनुसार सन् २०२५ मा नेपालले अवैध क्रियाकलापमा संलग्न ५२३ जना विदेशीलाई डिपोर्ट गरेको थियो । तीमध्ये ४०९ जना ओभरस्टे (भिसा सकिएपछि पनि बस्ने) गर्नेहरू थिए ।
सन् २०२५ मा १२० जना चिनियाँ, ७५ जना बंगलादेशी, ३५ जना अमेरिकी, २२ जना बेलायती, १८ जना पाकिस्तानीलगायत अन्य देशका नागरिकलाई नेपालले डिपोर्ट गरेको थियो ।
नेपालले डिपोर्ट गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा डिपोर्ट हुने विदेशकीको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ ।
विभागको तथ्याङ्क अनुसार, सन् २०२१ मा नेपालले २१८ जनालाई डिपोर्ट गरेको थियो । डिपोर्ट हुनेमा ३४ जना चिनियाँ, १९ जना अमेरिकन, १६ जना बेलायती, १२ जना पाकिस्तानी, ११ जना दक्षिण कोरियाली र १०१ जना अन्य देशका नागरिक थिए ।
सन् २०२२ मा नेपालबाट डिपोर्ट हुने विदेशीको संख्या ह्वात्तै बढेर ५७० पुगेको थियो । यो वर्ष १९१ जना चिनियाँ, ४८ जना अमेरिकन, ३७ जना बेलायती, १९ जना फ्रेन्च, १८ जना पाकिस्तानी र २५७ जना अन्य देशका नागरिकलाई नेपालले डिपोर्ट गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
सन् २०२२ को तुलनामा वर्ष २०२३ मा नेपालबाट डिपोर्ट हुने विदेशीको संख्या थोरै घटेको देखिन्छ । सन् २०२३ मा नेपालले ४५८ जनालाई डिपोर्ट गरेको थियो । डिपोर्ट हुनेमा २०९ जना चिनियाँ, ३७ जना अमेरिकी, १९ जना बंगलादेशी, १९ जना उज्वेक, १८ जना बेलायती र १५६ जना अन्य देशका नागरिक थिए ।
सन् २०२४ मा नेपालबाट डिपोर्ट हुने विदेशीको संख्या बढेर ५०१ पुगेको थियो । उक्त वर्ष डिपोर्ट हुनेमा १४१ जना चिनियाँ, ५४ जना अमेरिकी, ५१ जना बंगलादेशी, ३० जना पाकिस्तानी, २१ जना बेलायती र २०४ जना अन्य देशका नागरिक थिए ।
विभागको तथ्याङ्कअनुसार नेपालले सन् २०२१ मा २१८ जना, २०२२ मा ५७० जना, २०२३ मा ४५८ जना, २०२४ मा ५०१ जना, २०२५ मा ५२३ जना र सन् २०२६ को जनवरी १ देखि जुलाई २६ सम्मको अवधिमा २८७ जनालाई डिपोर्ट गरेको देखिन्छ ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार बितेको साढे १२ वर्षमा अर्थात सन् २०१४ देखि २०२६ जुलाई २६ सम्म नेपालले ५ हजार ५९६ जना विदेशीलाई डिपोर्ट गरेको छ ।
अवैध गतिविधिमा संलग्न ठूलो संख्यामा विदेशीलाई नेपालले वर्षेनी डिपोर्ट गर्दै आएको छ । सन् २०२६ को जनवरी १ यता मात्र हामीले २८७ जना विदेशीलाई डिपोर्ट गरिसकेका विभागले जनाएको छ ।


