CLI

प्रविधिको दुरुपयोगले चीन समस्यामा, टाइफुन आँधीको समस्या झेलिरहँदा प्राकृतिको प्रकोपको एआईबाट बनेको नक्कली भिडियो फैलिँदा समस्या

काठमाडौं । सप्ताहन्तमा चीनमा आँधी टाइफुन नोल (Typhoon Noul) ले भूभागमा प्रवेश गरेपछि त्यसबाट भएको क्षतिको सामना गरिरहेका चिनियाँ अधिकारीहरू अर्को गम्भीर चुनौतीबारे पनि चिन्तित छन्—कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका भ्रामक र झूटा भिडियोहरूको तीव्र फैलावट।

पछिल्ला केही महिनामा आएका शक्तिशाली आँधी र बाढीका घटनापछि सामाजिक सञ्जालमा नक्कली भिडियोहरूको बाढी नै आएको छ। यस्ता भिडियोहरूमा बाढीको पानीमा शव बगिरहेको देखाइने, वास्तवमा प्रभावित नभएका क्षेत्रमा पनि भीषण बाढी आएको झूटा दृश्य प्रस्तुत गरिने तथा उद्धार कार्यसम्बन्धी पूर्ण रूपमा बनावटी विवरण समावेश गरिएका सामग्रीहरू फैलाइएका छन्।

केही स्थानमा विद्युत् आपूर्ति बन्द भएको झूटा सूचना समेटिएका भिडियोहरू भाइरल भएपछि स्थानीय बासिन्दाले आकस्मिक सामग्रीहरू हतारहतार खरिद गर्न थालेका थिए।

कतिपय नक्कली भिडियोहरू भने वास्तविक घटनालाई आधार बनाएर तयार गरिएका छन्।

जुलाईको सुरुमा गुआङ्सी प्रान्तको हेङझोउ सहरमा आएको बाढीका कारण सर्प पालन केन्द्रबाट सयौँ सर्प बाहिर निस्किएका थिए। त्यसपछि सामाजिक सञ्जालमा नदीमा गोहीसमेत छाडिएको देखाउने नक्कली तस्बिर र भिडियोहरू पनि सार्वजनिक गरिए।

ठूलो संख्यामा मानिसको उद्धार र स्थानान्तरण भइरहेको संवेदनशील अवस्थामा अधिकारीहरू कुनै पनि प्रकारको अनावश्यक त्रास फैलिन नदिन चाहन्छन्। तर चीनले अर्बौं डलर लगानी गरिरहेको एआई प्रविधिले सर्वसाधारणलाई झुक्याउन सजिलो र सहज उपकरण उपलब्ध गराइरहेको भन्दै उनीहरू चिन्तित छन्।

चीनको झेजियाङ प्रान्तीय प्रहरी विभागअन्तर्गत अनलाइन सार्वजनिक सुरक्षा शाखाका उपप्रमुख ह्वाङ झिह्वाले चिनियाँ सरकारी सञ्चारमाध्यमसँग भने, “धेरै सामग्री निर्माता (कन्टेन्ट क्रिएटर)हरूले विपद्सम्बन्धी समाचारलाई बढी अनुयायी (फलोअर) बढाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्। उनीहरूलाई थाहा छ कि बढी सनसनीपूर्ण वा अतिरञ्जित सामग्रीले धेरै ‘लाइक’ र ‘भ्यु’ पाउँछ। त्यसैले उनीहरूले जानाजानी गलत सूचना बनाएर मानिसहरूको ध्यान आकर्षित गरिरहेका छन्।”

हालका साताहरूमा यस्ता झूटा समाचार र भिडियो बनाउने व्यक्तिविरुद्ध पक्राउदेखि आपराधिक अभियोजनका लागि हिरासत तथा जरिवानासम्मका कारबाही भएका छन्।

तर विज्ञहरूले भने गलत सूचनाको अभूतपूर्व संकट आउन सक्ने चेतावनी दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुलको पत्रिकामा प्रकाशित लेखमा प्राध्यापक चेन बिनले लेखेका छन्, “एआईले झूटा सूचना उत्पादन गर्न आवश्यक प्राविधिक कठिनाइलाई निकै घटाइदिएको छ। अब व्यक्तिलाई उच्चस्तरीय प्राविधिक सीप आवश्यक पर्दैन। एआई उपकरणलाई सामान्य निर्देशन दिएर पनि विश्वसनीय देखिने तर पूर्ण रूपमा बनावटी पाठ, तस्बिर, अडियो र भिडियो ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ।”

ईस्ट चाइना युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लका प्राध्यापक गाओ फुपिङले यस्तो झूटा सामग्री सार्वजनिक गर्नेहरूको उद्देश्य फरक–फरक हुने बताए।

उनका अनुसार केहीले परिणामबारे नसोची रमाइलोका लागि यस्तो सामग्री बनाउँछन्, केहीले व्यक्तिगत फाइदाका लागि धेरै दर्शक (ट्राफिक) तान्न खोज्छन् भने केहीले जानाजानी आतंक वा सामाजिक अशान्ति फैलाउने उद्देश्य राख्छन्।

चीन सरकारले विश्वको अग्रणी प्रविधि शक्ति बन्ने लक्ष्यसहित एआई प्रविधिलाई तीव्र रूपमा अघि बढाइरहेको छ।

सन् २०१७ मा चीनले एआईलाई देशको प्रगतिका लागि “मुख्य प्रेरक शक्ति” बनाउने घोषणा गरेको थियो।

हाल एआई क्षेत्रमा काम गर्ने कम्पनीहरूमा ठूलो मात्रामा लगानी भइरहेको छ, जसले घरेलु प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चीनमा हाल ६,००० भन्दा बढी एआई कम्पनी सञ्चालनमा छन्।

यस्तो अवस्थामा प्राध्यापक सुका अनुसार चीनले “विश्वसनीय सूचना पूर्वाधार” निर्माण गर्न आवश्यक छ। यसमा सरकारी आधिकारिक पूर्वसूचना प्रणाली तथा समाचार संस्थाले प्रयोग गर्न सक्ने विपद्सम्बन्धी सूचना प्लेटफर्म विकास गर्नुपर्ने सुझाव दिइएको छ।

यद्यपि, विगतमा सरकारी स्रोतहरू, विशेषगरी सरकार–नियन्त्रित सञ्चारमाध्यमहरूले नै केही विपद्का घटनालाई वास्तविकभन्दा कम गम्भीर देखाउने प्रयास गरेका उदाहरणहरू छन्, जसका कारण सर्वसाधारणमा सरकारी सूचनाप्रति केही अविश्वास पनि देखिएको छ।

जुलाईको सुरुतिर नानिङ नजिकै रहेको लिउलान बाँधको पर्खालमा ठूलो भत्कावट भएपछि स्थानीय पत्रकारहरूलाई त्यसलाई “भत्किएको” भन्नुको सट्टा “खुला भाग” वा “सानो खाली स्थान” जस्ता शब्द प्रयोग गर्न निर्देशन दिइएको थियो।

अधिकारीहरूले घटनालाई कम गम्भीर देखाउन खोजेको आरोप लागेको थियो। तर बाँध फुटेपछि बगेको बाढीले तल्लो क्षेत्रमा कम्तीमा २६ जनाको ज्यान गएको थियो।
अन्तराष्ट्रिय मिडियाको सहयोगमा

Leave Your Comment

Related News